हवाई यात्रामा पनि हेर्न पाइने भयो फिल्म ‘राजागंज’
काठमाडौं : नेपालका हलमा प्रदर्शन भइरहेको नेपाली फिल्म ‘राजागंज : पूजा सर’लाई अब दर्शकले हवाई यात्रामा समेत हेर्न पाउने भएका छन्। निर्माण पक्षका अनुसार विश्वका ५ मुख्य अन्तर्राष्ट्रिय एयरलाइन्स- कतार, अमेरिकन, युनाइटेड, लुफ्थान्सार स्वीस एयरलाइन्सबाट यात्रा गर्दा यो सुविधा पाउने भएका हुन्। अहिले एकैसाथ स्ट्रिमिङ हुन थालेको छ। यसअघि विदेशी एयरलाइन्समा नेपाली फिल्म चलाउने गरेका थिएनन्।
सन् २०१२मा प्रतिष्ठित बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रतिस्पर्धा गरेको यो फिल्ममा गत वर्ष संसारकै पुरानो भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो। नेपालका बाँसुरी फिल्मस् र नर्वेको ट्यानहाउजर गेटको सहकार्यमा आदि फिल्मसले निर्माण गरेको ‘राजागंज : पूजा सर’ले बुसान, टालिन ब्ल्याक नाइट्स, गोथेबर्ग, सेलोनिकी, सिड्नी, मुम्बई लगायत दर्जनौं प्रतिष्ठित महोत्सवमा नेपालको उपस्थितिसमेत जनाइसकेको छ।
ग्लोबल इन-फ्लाइट इन्टरटेन्मेन्ट कम्पनी पेनी ब्ल्याक मिडियाले ‘राजागंजःपूजा सर’को अन्तर्राष्ट्रिय एयरलाइन्समा वितरण गरेको हो। यो कम्पनीले राजागंजको अन्तर्राष्ट्रिय इन-फ्लाइट वितरण अधिकार भेनिसमै किनेको निर्माण पक्षले जानकारी दिएको छ। फिल्मको थियेट्रिकल विन्डो अक्टोबरमा सकिएपछि एयरलाइन्स वितरणको काम सुरु भएको हो। यो ५ वटा एयरलाइन्सको प्रोग्रामिङ प्रारम्भिकमा मात्र हो। पेनी ब्ल्याककी कन्टेन्ट डिस्ट्रिब्युसन कीभिपी हुलिएटा बोयरले थप एयरलाइन्ससँगको डिल सम्झौताको क्रममा रहेको जनाएकी छिन्।
क्राइम थ्रिलर जनरामा खिचिएको यो फिल्मको कथा तराईमा भएको द्वन्द्व र दुई बच्चाको अपहरणको मुद्दा अनुसन्धान र बच्चाको सुरक्षित रेस्क्यु अपरेसनका कुरालाई उठाएको छ। फिल्ममा आशा मगराती, निकिता चंडक, दयाहाङ राई, विजय बराल, रिचा शर्मा, आरती मंडल, गौमाया गुरुङ, पशुपति राई, घनश्याम मिश्रा र निरज श्रेष्ठहरूको मुख्य भूमिका रहेको छ। यस फिल्मका निर्माता पूर्ण सिंह बराइली हुन्। उनकाअनुसार, राजागंज फेरि नेपाली दर्शक माझ फर्किन लागेको छ।
दीपक रौनियारको निर्देशित यो फिल्मको लेखन दीपकसहित अभिनेत्री मगराती र डेभिड बार्करले गरेका हुन्। यसका निर्माताहरूमा रौनियार, रामबाबु गुरुङ, आशा मगराती, एलनआर मिलिगन, र निरज श्रेष्ठ छन्। कार्यकारी निर्मातामा अभिनेता दयाहाङ राई पनि रहेका छन्। सेल्डन चाउले यो फिल्मको सिनेमाटोग्राफी गरेका हुन् भने जे हिमली र एलेक्स गर्भिट्सले सम्पादन गरेका हुन्।
मंसिर ९, २०८२ मंगलबार १६:२४:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।