टिओबीका तेन्जिङको कागजातदेखि पृष्ठभूमिसम्म ‘रहस्यमय’,  फ्रि तिब्बतमा सुधनको सम्बन्धबारे अनुसन्धान भएन

टिओबीका तेन्जिङको कागजातदेखि पृष्ठभूमिसम्म ‘रहस्यमय’,  फ्रि तिब्बतमा सुधनको सम्बन्धबारे अनुसन्धान भएन

काठमाडौं : जेनजी आन्दोलनमा मोटरसाइकल पड्काउँदै वातावरण बिथोलेको आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका टिओबी समूहका अगुवा तेन्जिङ दावा लामाको पृष्ठभूमि रहस्यमय देखिएको छ।

जेनजी आन्दोलनमा टिओबी र टिओबी हाकिम नामको कालो टिसर्ट लगाएर सहभागी भएकाहरूले शान्तिपूर्ण आन्दोलन भड्काएको र टिओबी तिब्बतीय अभियानसँग जोडिएको समाचार सार्वजनिक भएपछि प्रहरीले तेन्जिङलाई पक्राउ गरेको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका उनीबारे अनुसन्धानमा फेला परेका विवरण र गतिविधि रहस्यमय देखिएको प्रहरीले जानकारी गरायो।

असोज २६ मा उनी पक्राउ परेपछि उनले पेस्तोल पछाडि राख्दै गरेको तस्बिर सार्वजनिक भयो। प्रहरीले त्यसबारे अनुसन्धान गर्दा सो नक्कली भएको खुल्यो। तर उनको नेपाली नागरिकता लगायतका विवरणहरू खोज्दा शङ्कास्पद देखिएपछि अहिले प्रहरीले उनीमाथि लिखत सम्बन्धी कसुर, नागरिकता तथा राहदानीसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानकोक्रममा उनको कोठामा प्रहरीले तलासी लिँदा गाँजा बरामद भएको दाबी गर्दै प्रहरीले उनीमाथि लागुऔषधसम्बन्धी कसुरमा समेत अनुसन्धान गरिरहेको छ।

नक्कली कागजातको थुप्रोतर दर्ता’ को कुनै प्रमाण छैन

प्रहरीका अनुसार तेन्जिङबाट बरामद कागजातले उनको पृष्ठभूमि झनै शङ्कास्पद बनाएको छ। उनको विद्यालयको प्रमाणपत्र, नागरिकता, राहदानीदेखि अन्य सम्बन्धित कागजात सबैमा गलत विवरण र नक्कली प्रमाण भेटिएको प्रहरीको दाबी छ। उनका अधिकांश कागजात सरकारी अभिलेखमा दर्ता भएको नभेटिएको प्रहरी परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए।

तेन्जिङले पढेको भनिएको विद्यालयमै उनको कुनै रेकर्ड छैन। नागरिकता तथा राहदानीमा उल्लेख भएका बाबुआमासम्बन्धी आधिकारिक विवरण समेत प्रमाणित नभएको प्रहरीले जानकारी दिएको छ।

ट्याटु हाउसदेखि बाइकर्स ग्रुप’ सम्म

प्रहरी अनुसन्धानअनुसार तेन्जिङ दावा लामा सन् २०१७ मा बौद्धस्थित फूलबारी कम्प्लेक्समा सञ्चालनमा आएको टिओबी ट्याटु हाउसबाट परिचित भएको देखिन्छ। यही स्टुडियोबाट उनले टिओबीको धारणा सार्वजनिक रूपमा प्रयोग गर्न थालेको हुन्। उनले टिओबीलाई तिब्बतीय ओरिजिन ब्लडको रूपमा प्रयोग गर्ने गरेका छन्। अर्थात् तिब्बती मूलवासी।

सन् २०२४ अक्टोबरमा भने उनले सामाजिक सञ्जालमा टिओबी बाइकर्स ग्रुप बनाए। तर उनको यो समूह कतै दर्ता भएको भने छैन। सामाजिक सञ्जालमार्फत संगठित हुन अनौपचारिक रूपमा समूह निर्माण भएको अनुसन्धानमा खुलेको छ।

प्रहरीले नियन्त्रणमा लिएको टिओबी समूहको बाइकहरु।यो समूहमा ५७ सदस्य रहेकामा तेन्जिङ अध्यक्षका रूपमा सक्रिय देखिएका छन्। तेन्जिङसँगै सोनाम शेर्पा र एरेन राई प्रारम्भिक सदस्य मानिएका छन्। मोटरसाइकल भएका साथीहरूबिच भेटघाट, यात्रा र ‘सामाजिक सेवा’ गर्ने उद्देश्यले समूह सुरु गरिएको अनुसन्धानमा उल्लेख छ।

तेन्जिङको बयान उद्धृत गर्दै प्रहरीले टिओबीको अर्थ तिब्बतीय ओरिजिन ब्लड भएको बतायो। फेसबुक र इन्स्टाग्राममा पनि उनीहरूले यही पहिचान प्रयोग गरेका छन्। समूहका सदस्यले लगाउने टीओबी टिसर्ट, लोगो र डिजाइन तेन्जिङ स्वयंले बनाएका हुन्।

लोगोमा उनले ड्रागनको चित्र प्रयोग गरेका छन्। समूहमा ‘हाकिम’ उपनामले चिनिने र्यापर सुरेन्द्र गुरुङ समेत संलग्न रहेको खुलेको छ। उनी ‘हाकिम इन्टरटेनमेन्ट प्रालि.’का सञ्चालक हुन्। समूहले टिओबी हाकिम लेखिएको टिसर्ट समेत प्रयोग गर्ने गरेका छन्। तेन्जिङले प्रहरी बयानमा लोगोको माथि “हाकिम” शब्द लेख्न गुरुङको अनुमति लिएको बताएका छन्।

जेनजी आन्दोलनमा सक्रियता: २० बाइक३१ सहभागी

भदौ २३ गते काठमाडौंमा भएको जेनजी आन्दोलनमा टिओबीका २० मोटरसाइकलमा ३१ जना सहभागी भएको प्रहरीले खुलाएको छ। परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार आन्दोलनमा टिओबी टिसर्ट लगाएर बुलेट बाइक पड्काउँदै भीडमा पुगेकाहरूको ठूलो समूह कलेज पढ्ने नेपाली युवक थिए। तेन्जिङबाहेक अन्य सदस्यको पहिचान र नागरिकता स्पष्ट रहे पनि तेन्जिङको वास्तविक परिचय भने अझै पुष्टि हुन सकेको छैन।

प्रदर्शनमा तेन्जिङले टिओबी र तल तिब्बतीय ओरिजिन ब्लड लेखिएको टिसर्ट लगाएका थिए भने अन्यले टिओबी हाकिम लेखेको टिसर्ट लगाएका थिए। प्रहरीले १३ जनाबाट टिसर्ट समेत बरामद गरेको छ।

चिया पसलमा बैठकबिजुलीबजारमा प्रवेश

प्रहरीको अनुसन्धानमा खुले अनुसार समूहको सदस्यहीबीच चाबहिलस्थित लाभिस गार्डेन रेस्टुरेन्ट र गोपीकृष्ण नजिकको ‘चिया बस्ती’ नामक पसलमा भेटघाट हुन्थ्यो। भदौ २३ को घटनाको अघिल्लो दिन पनि उनीहरूले प्रदर्शनमा सहभागी हुने सूचना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।

जेनजी आन्दोलनमा टिओबी समूहको संलग्नताबारे अनुसन्धान विवरण सार्वजनिक गर्दै प्रहरी।त्यही दिन बिहान ११ बजे उनीहरू चिया बस्तीमा जम्मा भएर २० वटा मोटरसाइकलमा बिजुलीबजारतर्फ गएको देखिएको छ। उनीहरू १२ बजे बिजुलीबजार पुलमा पुगेर बाइक पड्काउँदै, नारा लगाउँदै भीडलाई उत्तेजित बनाएका थिए। त्यही क्रममा अर्को समूहले फालेको ढुंगाले लागेर तेन्जिङको टाउकोमा चोट समेत लागेको थियो।

र्यापर हाकिम समूहमा संलग्न रहेको देखिए पनि अन्य गतिविधिमा उनको प्रत्यक्ष संलग्नता नदेखिएको प्रहरीले जानकारी दिएको छ। टिओबीका सदस्यहरूबीच ‘हाकिम’ भनेर चिनिने सुरेन्द्र गुरुङ रोल मोडल भएको प्रहरीको दाबी छ।

उनले ‘चिसो चिसो’ गीतको सुटिङताका तेन्जिङसँग भेटघाट र चिनजान भएको र टिओबीलाई द ओर्जिनल बर्दर्शको रूपमा चिनाउन सुझाव दिएको खुलाएका छन्।

उपत्यकाबाहिर ९ पटक लामो राइड

समूहले प्रत्येक ६–६ महिनामा उपत्यकाबाहिर लामो मोटरसाइकल यात्रा गर्ने गरेको पाइएको छ।
उनीहरूले प्रहरीलाई दिएको जानकारीअनुसार, मुस्ताङ, माथिल्लो मुस्ताङ, पोखरा लगायत गन्तव्य हुँदै ९ पटक लामो राइड गरिसकेका छन्। उपत्यकाभित्र भने सुन्दरीजल, तारेभिर, गोकर्ण मुख्य गन्तव्य रहेका छन्।

जेनजी आन्दोलनमा उनीहरूको भूमिकाबारे अनुसन्धानका लागि तेन्जिङलाई मात्र हिरासतमा राखेको छ। अन्य २६ जनालाई निगरानीमा राखिएको र प्रदर्शनका क्रममा प्रयोग भएका १४ मोटरसाइकल प्रहरीले नियन्त्रणमा राखेको छ।

सुधनबारे भएन अनुसन्धान

जेनजी आन्दोलनमा जोडिएका सुधन गुरुङको संस्था हामी नेपालको स्वतन्त्र तिब्बत अभियानमा संलग्न संगठनसँग प्रत्यक्ष सम्बन्ध रहेको खुले पनि त्यसबारे भने प्रहरीले अनुसन्धान गरेको छैन। आन्दोलनमा पानी बाँड्ने स्वयंसेवकको रूपमा गएका उनी भदौ २४ पछि जेनजी लिडरको रूपमा उदाएका थिए।

उनको 'हामी नेपाल' नामक संस्थाको वेबसाइटमा राखिएका लिंकमै भारतमा रहेको 'फ्रि तिब्बत' अभियानमा संलग्न 'स्टुडेन्ट फर अ फ्रि तिब्बत'सँग सहकार्य गरेको उल्लेख छ। ए लेभल भर्ना भए पनि पास हुन नसकेका उनको पछिल्लो भ्रमण टर्की, चीन र थाइल्यान्ड देखिन्छ।

सबैभन्दा गम्भीर पक्ष 'स्टुडेन्ट फर अ फ्रि तिब्बत'सँगको औपचारिक सम्बन्ध देखिन्छ। यो संस्था नेपालमा हुने चीन विरोधी गतिविधिमा प्रत्यक्ष संलग्न देखिन्छ। सन् २००६ मा स्वतन्त्र तिब्बतको माग गर्दै काठमाडौंको बौद्धमा तिब्बती समूहले गरेको विरोध प्रदर्शनमा यो संस्था जोडिएको खुल्यो।

'एक चीन नीति' भन्दै सरकारी निकाय नेपालमा स्वतन्त्र तिब्बतको प्रदर्शन र गतिविधिमाथिको निगरानीमा खटिँदा त्यही संस्थासँग सहकार्य गरिरहेको संस्था र व्यक्तिबारे खुफिया र सुरक्षा संगठन अनभिज्ञ देखिनु पत्यारलाग्दो पक्ष भने हैन।

यतिमात्रै हैन, यो संस्थाको सम्बन्ध 'फ्रि तिब्बत'सँगै जोडिएको नमोबुद्धको थांग्रु गुम्बासँग समेत देखियो। यो गुम्बाको मुख्य सहयोगी संस्था अमेरिकामा रहेको हिमालयन चिल्ड्रेन्स फन्ड हो, जुन 'फ्रि तिब्बत'को अभियानसँग जोडिएको संस्था नै हो।

नेपालमा नियुक्त हुने नयाँ प्रधानमन्त्रीलाई विभिन्न देशका सरकार प्रमुखहरूले शुभकामना दिनु सामान्य नै हो। सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएपछि नेपालका नयाँ प्रधानमन्त्रीलाई कहिल्यै शुभकामना नदिने भारतमा निर्वासित तिब्बतका दलाई लामाले शुभकामना सन्देश पठाउनु कूटनीतिक हिसाबले निकै अर्थपूर्ण देखिएको थियो।

सम्बन्धित समाचार

मंसिर ९, २०८२ मंगलबार १६:१३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।