मध्यरातमा पाकिस्तानद्वारा अफगानिस्तानमा हवाई आक्रमण, नौ बालबालिकासहित १० जनाको मृत्यु
एजेन्सी : पाकिस्तानले सोमबार राति अफगानिस्तानका खोस्त, कुनार र पक्तिका प्रान्तमा हवाई हमला गरेको छ। उक्त आक्रमणमा परी १० जना सर्वसाधारणको मृत्यु भएको छ। मारिनेमा ९ जना बालबालिका र एक महिला रहेका छन्।
तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदका अनुसार पाकिस्तानी विमानले खोस्त प्रान्तको मुगलगई क्षेत्रमा राति करिब १२ बजे एक घरमा बमबारी गरेको थियो। सो हमलामा ५ बालक, ४ बालिका र एक महिलाको ज्यान गएको छ।
यस्तै, कुनार र पक्तिका प्रान्तमा भएको आक्रमणमा थप चार जना सर्वसाधारण घाइते भएका छन्। अफगानिस्तानले पाकिस्तानको यो आक्रमणलाई इस्तानबुलमा भएको युद्धविराम सम्झौताको उल्लंघन भनेको छ।
यस घटनाबारे पाकिस्तानको सेना र विदेश मन्त्रालयले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्।
अफगानिस्तानमा हमला भइरहँदा पाकिस्तान आफैं पनि गम्भीर सुरक्षा चुनौतीसँग जुधिरहेको छ। सोमबार साँझ नै पाकिस्तानको पेशावरस्थित ‘फ्रन्टियर कन्स्टेबुलरी’ मुख्यालयमा आत्मघाती आक्रमण भएको थियो।
सैनिक क्यान्ट क्षेत्र नजिकै भएको उक्त हमलामा ३ कमाण्डो र ३ आक्रमणकारीसहित ६ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार आक्रमणकारीले शरीर ढाकेर चौकीमा पुगी आफूलाई उडाएका थिए।
पछिल्लो समय पाकिस्तान र अफगानिस्तानबीचको तनाव बढ्दै गएको छ। गत अक्टोबरमा दुई देशका सेनाबीच भएको झडपमा दर्जनौंको मृत्यु भएको थियो।
पाकिस्तानले ‘तहरिक-ए-तालिबान पाकिस्तान’का लडाकुहरूले अफगानिस्तानको भूमि प्रयोग गरी पाकिस्तानमा हमला गरिरहेको आरोप लगाउँदै आएको छ।
यद्यपि, अफगानिस्तानको तालिबान सरकारले भने यी आरोपहरूको निरन्तर खण्डन गर्दै आएको छ। अक्टोबरमा दोहामा युद्धविराम सम्झौता भए पनि टर्कीमा भएको शान्ति वार्ता निष्कर्षमा पुग्न सकेको छैन।
मंसिर ९, २०८२ मंगलबार १२:४०:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।