मुलपानीमा आधुनिक इन्डोर हल र होस्टेल बनाउँदै क्यान, डीपीआरका लागि आशय पत्र आह्वान
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौंको मुलपानीस्थित क्रिकेट मैदानमा आधुनिक सुविधासम्पन्न पूर्वाधार निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ।
क्यानले मुलपानीमा ‘मोडर्न इन्डोर क्रिकेट प्राक्टिस हल’ र खेलाडी आवासका लागि ‘होस्टेल’ निर्माण गर्ने योजनासहित विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न आशय पत्र माग गरेको छ।
क्रिकेटको विकास र खेलाडीहरूको प्रशिक्षणलाई थप प्रभावकारी बनाउने उद्देश्यले विश्वस्तरिय पूर्वाधार बनाउन लागिएको क्यानले जनाएको छ।
क्यानले जारी गरेको सूचना अनुसार, मुलपानीमा निर्माण हुने परियोजनामा मुख्यतया दुई वटा संरचना रहनेछन्।
मुलपानीमा बन्ने आधुनिक इन्डोर हलमा टर्फ र एस्ट्रो विकेटहरू, लाइटिङ सिस्टम, भेन्टिलेसन र सुरक्षाका आधुनिक मापदण्डहरू समावेश हुनेछन्।
त्यसैगरी खेलाडीहरूको बसोबासका लागि २५ कोठाको होस्टेल निर्माण गरिनेछ। जसमा २० वटा कोठा दुई जना बस्न मिल्ने र ५ वटा कोठा एकल हुनेछन्।
यसबाहेक, उक्त परिसरमा जिम, स्विमिङ पुल, कार्यालय कक्षहरू, वासरुम, डाइनिङ हल र रिक्रिएसन एरिया (मनोरंजन क्षेत्र) समेत समेटेर डीपीआर तयार पार्नुपर्ने क्यानले उल्लेख गरेको छ।
डीपीआर तयार पार्न इच्छुक परामर्शदाता वा फर्महरूसँग खेलकुद पूर्वाधारको डीपीआर वा आर्किटेक्चरल डिजाइनमा कम्तीमा ५ वर्षको अनुभव हुनुपर्नेछ।
साथै, क्रिकेट पूर्वाधारमा परामर्शदाताको रूपमा ३ वर्षको अनुभव र आईसीसीको पूर्ण वा एसोसिएट सदस्य राष्ट्रहरूमा यस्तै प्रकृतिको काम गरेको अनुभव हुनुपर्ने शर्त राखिएको छ।
क्यानले जोइन्ट भेन्चरमा पनि बढीमा २ वटा कम्पनी मिलेर आवेदन दिन सक्ने व्यवस्था गरेको छ।
इच्छुक र योग्य कम्पनीहरूले आफ्नो आशय पत्र सफ्ट कपिको रूपमा इमेलमार्फत बुझाउन सक्नेछन्। आवेदन बुझाउने अन्तिम मिति सन् २०२५ डिसेम्बर १० अपरान्ह ३ बजेसम्म तोकिएको सूचनामा उल्लेख छ।
मंसिर ९, २०८२ मंगलबार १२:०३:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।