दोस्रो संस्करणको एनपीएलमा कुशलको शानदार कमब्याक, तर टिम हारेको हार्यै
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सको सुरुवात निकै खराब भयो। अंक तालिकाको पुच्छारमा रहेको पोखराले आफ्ना सुरुवाती दुवै खेलमा पराजय भोग्यो।
तर, यो निराशाजनक नतिजाकाबीच पनि एउटा सुखद पक्ष भनेको कप्तान कुशल भुर्तेलको ब्याटिङ फर्म हो। पहिलो सिजनमा निकै आलोचना खेपेका कुशलले यसपटक व्यक्तिगत रूपमा आफूलाई प्रमाणित गरेका छन्, तर टिमको नतिजा भने सुधार्न सकेका छैनन्।
बिर्सन लायक पहिलो सिजन
गतवर्ष भएको पहिलो संस्करण कुशल भुर्तेल र पोखरा एभेन्जर्स दुवैका लागि बिर्सनलायक रह्यो। पहिलो सिजनमा कुशल ब्याटिङमा निकै कमजोर देखिए। लिगभरिको प्रदर्शनलाई हेर्दा उनी ब्याटिङ वरीयतामा ५०औं स्थानमा थिए। उनीबाट अपेक्षा गरिएको आक्रामक इनिङ कतै देखिएन।
सात खेलमा छ इनिङ खेलेका उनले जम्मा लिगभरी जम्मा ५४ रन बनाए। छ मध्ये एउटा खेलमा उनको सर्वाधिक स्कोर ३१ रन थियो। ब्याटिङमा नगरे पनि बलिङबाट उनले टिमलाई योगदान गर्न सक्थे।

तर पहिलो सिजनमा बलिङमा पनि उनी जम्न सकेनन्। छ ओभरमा १४.१ ओभर बलिङ गर्दा उनले ५ विकेट मात्र लिन सके, त्यो पनि लगभग ८ को इकोनोमीमा रहेर। ब्याटिङमा आशा गरेका कप्तान नै नचलेपछि टिमको तनिजा पनि सन्तोषजनक भएन।
उनको कप्तानीमा टोलीले ७ खेलमा जम्मा २ जित हात पार्दै अंक तालिकाको सातौं स्थानमा चित्त बुझाउनुपर्यो। जसकारण टोलीले प्लेअफ खेल्ने मौका समेत गुमाउन पुग्यो।
ब्याटिङमा लय समातेका कप्तान
तर, मंसिर १ गतेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु भएको दोस्रो संस्करणमा आइपुग्दा भने कप्तान भुर्तेल फरक लयमा देखिएका छन्। आलोचकहरूलाई जवाफ दिँदै उनले ब्याटिङमा सुधार मात्र गरेनन्, टिमलाई अगाडिबाट नेतृत्व गरिरहेका छन्।
पहिलो सिजन ५०औं स्थानमा रहेका कुशल, दोस्रो सिजनको दुई खेल सकिँदा चौथो स्थानमा उक्लिएका छन्। विराटनगर किंग्सविरुद्धको पहिलो खेलमा ३१ बलमा चार चौका र चार छक्काको मद्दतमा ५९ रन बनाए।

त्यस्तै सुदूरपश्चिम रोयल्सविरुद्धको दोस्रो खेलमा पनि उनी आफ्नो उत्कृष्ट लयमा देखिए। उनले उक्त खेलमा ३२ बलमा चार चौका र चार छक्काको मद्दतमा ५३ रन जोडे। दुई खेलमा कुल ११२ रन बनाउँदै उनी उत्कृष्ट लयमा छन्। दुवै खेलमा उनले १६५ भन्दा माथिको स्ट्राइक रेटमा रन बनाइरहेका छन्।
झुर फिल्डिङ
कुशल लगायतका ब्याटरले ब्याटिङमा जतिसुकै राम्रो गरे पनि पोखराले हार्नुको मुख्य कारण अत्यन्तै झुर फिल्डिङ हो।
विराटनगर र सुदूरपश्चिम दुवै विरुद्धको खेलमा पोखराका फिल्डरहरूले महत्त्वपूर्ण क्याचहरू छोडे। विराटनगर विरुद्ध २२० रन र सुदूरपश्चिम विरुद्ध १९३ रन बन्नुमा बलरको भन्दा बढी गल्ती फिल्डरहरूको देखिन्छ।
कप्तानका रूपमा कुशलले ब्याटिङमा त योगदान दिएका छन्, तर आफ्ना फिल्डरहरूलाई चुस्तदुरुस्त राख्न र मैदानमा ऊर्जा भर्न उनी असफल देखिन्छन्। खराब फिल्डिङले गर्दा नै विपक्षीले विशाल स्कोर खडा गरिरहेका छन्।

बलिङ र कप्तानी शैली
कुशल एक अलराउन्डर हुन्। ब्याटिङसँगै बलिङबाट पनि विपक्षीका खेलाडीहरूको विकेट लिनसक्ने क्षमता उनी राख्छन्। तर यसपटक पनि उनको बलिङका जादु चल्न सकेको छैन।
दुई खेलमा उनले केवल १ विकेट लिएका छन्। अझ महत्त्वपूर्ण कुरा, उनले बलरहरूको प्रयोगमा पनि परिपक्वता देखाउन सकेका छैनन्। विपक्षीले ठूलो स्कोर बनाइरहँदा खेलको गति नियन्त्रण गर्न उनी चुकेका छन्।
कुशलको कप्तानीमा ‘व्यक्तिगत प्रदर्शन’ सुध्रिए पनि टिमको नतिजा निकाल्ने खुबीको कमी देखिएको छ। टिमले २०० भन्दा माथिको स्कोर रोक्न उनका कप्तानी निर्णयहरूमा कमजोरी देखिएको छ।
सुदूरपश्चिम र विराटनगरले ३-३ जितसहित दबदबा कायम राखिरहँदा तिनै दुई टोलीसँग पराजित भएको पोखरा एभेन्जर्स अंक तालिकामा शून्य अंकसहित पुच्छारमा अर्थात आठौं स्थानमा छ।

पोखराले अब डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्ससहित लुम्बिनी लायन्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, कर्णाली याक्ससँग खेल्न बाँकी छ।
बाँकी खेलहरू आफ्नो पक्षमा पार्न कुशलले आफ्नो ब्याटिङ लयलाई निरन्तरता दिनु त पर्छ नै, फिल्डिङमा देखिएको कमजोरी हटाउन सकेनन् भने दोस्रो सिजनमा पनि पोखरा लिग चरणबाटै बाहिरिने खतरा छ।
कुशल भुर्तेलले ब्याटिङमा आफूलाई प्रमाणित गरिसके, तर एउटा कप्तानको रूपमा टिमलाई जिताउन अबको खेलहरूमा उनले फिल्डिङ र बलिङ रणनीति नसुधारी सुखै छैन। व्यक्तिगत रेकर्ड राम्रो भए पनि टिमले हारेपछि त्यसको खासै अर्थ रहँदैन।
मंसिर ९, २०८२ मंगलबार १०:२९:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।