इथियोपियामा १२ हजार वर्षपछि फुट्यो ज्वालामुखी, खरानी मिसिएको बादल भारतको दिल्लीसम्म
काठमाडौं : अफ्रिकी मुलुक इथियोपियामा १२ हजार वर्षपछि आइतबार अचानक एक ज्वालामुखी विस्फोट भएको छ।
उक्त विस्फोटबाट निस्किएको खरानी र सल्फर डाइअक्साइड करिब १५ किलोमिटर उचाइसम्म पुगेको थियो। यो धुवाँ र खरानीको मुस्लो लाल सागर पार गर्दै यमन र ओमानसम्म फैलिएको छ।
सोमबार राति करिब ११ बजे उक्त ज्वालामुखीको खरानी भारतको राजधानी दिल्लीसम्म पुगेको छ। करिब १३० किलोमिटर प्रतिघण्टाको उच्च गतिमा उत्तर-पश्चिम भारततर्फ बढेको यो बादललाई मौसमविद्हरूले लगातार ट्रयाक गरिरहेका थिए।
भारतको मौसम निगरानी टोलीका अनुसार, खरानीको यो बादल सबैभन्दा पहिले पश्चिमी राजस्थानबाट भारत प्रवेश गरेको हो। जोधपुर र जैसलमेर हुँदै भारत छिरेको यो बादल अहिले उत्तर-पूर्वतर्फ बढिरहेको छ।
हाल यो बादल राजस्थान, हरियाणा र दिल्लीको आकाशमा फैलिसकेको छ। यसको केही हिस्साले गुजरातलाई पनि छुन सक्ने अनुमान गरिएको छ। साथै, पन्जाब, पश्चिमी उत्तर प्रदेशका पहाडी क्षेत्र र हिमाचल प्रदेशमा पनि यसको असर देखिने सम्भावना छ।
आकाशमा ज्वालामुखीको खरानी फैलिएपछि हवाई यात्रा जोखिमपूर्ण हुने भएकाले धेरै एयरलाइन्स कम्पनीहरूले आफ्ना उडानहरू रद्द गरेका छन्।
मंसिर ९, २०८२ मंगलबार ०७:४८:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।