एनपिएलमा ब्याटिङ र बलिङमा कप्तान ऐरी जम्दा सुदूरपश्चिमले निकाल्यो तेस्रो जित
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा सुदूरपश्चिम रोएल्सले कर्णाली याक्सलाई ४५ रनले पराजित गर्दै तेस्रो जित निकालेको छ। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले जम्मा १४० रनको लक्ष्य दिएको थियो। सामान्य लक्ष्य भए पनि कर्णाली याक्सले १९.१ ओभरमा ९४ रन बनाएर अलआउट भयो।
कर्णालीका लागि सबैभन्दा धेरै पवन सर्राफले २७ र मार्क वाटले १७ रन बनाए। कर्णालीलाई मध्यम लक्ष्य पुरा गर्न रोक्नेमा सुदूरपश्चिमका क्याप्टेन दीपेन्द्रसिंह ऐरीको बलिङ मुख्य कारक बन्यो।
ऐरीले ४ ओभरमा २३ रन खर्चिएर ४ विकेट लिएका थिए। कर्णाली २९ रनमा पुग्दा उसले ४ विकेट गुमाइसकेको थियो। त्यसपछि आएका कर्णालीका कप्तान सोमपाल कामी र पवन सर्राफले ३४ रनको साझेदारी गरेर रनको संख्या बढाए पनि मध्यमक्रमका ब्याटरको लय बिग्रँदा कर्णालीले सय रन पनि छुन सकेन।
ऐरीले ४ विकेट लिए भने हर्मीत सिंहले ४ ओभरमा १ मेडनसहित १९ रन दिएर २ विकेट लिए। अविनाश बोहराले पनि २ विकेट लिए। स्कट कुगेलेइनले ४ ओभरमा ९ रन खर्चिएर १ विकेट लिएका थिए। हेमन्त धामीले पनि १ विकेट लिए।
टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १ सय ४० रनको लक्ष्य दिएको थियो। सुदूरपश्चिमले ९ विकेट गुमाएको थियो। ब्याटिङमा पनि सुदूरपश्चिमका कप्तान ऐरीले २८ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३९ रन बनाएका थिए। सुदूरपश्चिमका लागि आरिफ शेखले २७ र रहमित सिंहले १९ रन जोडेका थिए।
सुदूरपश्चिमलाई सहज अङ्कमा रोक्न कर्णालीका कप्तान कामीको धारिलो बलिङले काम गरेको थियो। उनले ४ ओभरमा १ मेडन राख्दै ३२ रन खर्चेर ३ विकेट लिएका थिए। नन्दन यादवले २, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले १-१ विकेट लिएका थिए।
तर ब्याटर नचल्दा कर्णालीले बलिङमा गरेको मिहेनत खेल जित्न सहयोगी बनेन।
मंसिर ८, २०८२ सोमबार २०:४३:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।