‘परान’ले १४ करोड ग्रस कलेक्सन गर्दा हिट ब्रान्ड जारी ५ करोडमै अड्कियो

‘परान’ले १४ करोड ग्रस कलेक्सन गर्दा हिट ब्रान्ड जारी ५ करोडमै अड्कियो

काठमाडौं : यस अगाडि सर्वाधिक कमाइको रेकर्ड राखेको फिल्म जारी-२  लाई व्यापारमा निकै पछाडि धकेल्दै ‘परान’ ले १४ करोड बढी ग्रस कलेक्सन गरेको छ। कार्तिक १४ गतेबाट हलमा लागेको फिल्म ‘परान’ले पूर्णबहादुरको सारङ्गीको व्यापार ट्रेन्ड पछ्याइरहेको छ। प्रारम्भमा सुस्त व्यापार गरेको फिल्मले सुरुवातमा ६ लाखको व्यापार गरेको थियो। २३ दिनमा आइपुग्दा फिल्मको ग्रस कलेक्सन १४ करोड १६ लाखभन्दा बढी भइसकेको छ।

पूर्णबहादुरको सारंगी रिलिज भएको केही दिन निकै सुस्त व्यापार भएपछि हल सञ्चालकहरूले शो समेत घटाएका थिए। बिस्तारै दर्शकहरूको चाप बढेपछि शो संख्या थपिँदै जाँदा यो फिल्मले नेपालकै हालसम्मको सबैभन्दा धेरै ग्रस कलेक्सन गर्ने फिल्मको रेकर्ड बनाएको थियो। परान पनि यही बाटोमा हिँडिरहेको छ।

चलचित्र विकास बोर्डले सोमबार तिहारदेखि रिलिज भएका फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गर्यो। हरेक शनिवार राति ११ बजेर ५९ मिनेटसम्मको व्यापारलाई बोर्डले सोमबार दिउँसो सार्वजनिक गर्दै आएको छ।

मंसिर ६ गते रातीसम्मको तथ्यांकअनुसार ‘परान’ ले भने २३ दिनमा १४ करोड १६ लाख ५१ हजार ग्रस कलेक्सन गरेको छ। यो बिचमा सुपरहिट ट्याग पाएको अनमोल केसी अभिनीत फिल्म ‘जेरी अन टप’ ले गत शनिवारसम्म  १२ करोड ९७ लाख ४८ हजारको व्यापार गरेको छ।

कवि तथा लेखक उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्म ‘जारी २’ले गत शनिवार रातिसम्म जम्मा ५ करोड ८९ लाख ३ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको छ। सुब्बाको जारीले वर्षभर सर्वाधिक कमाई गर्ने फिल्मको रेकर्ड राखेको थियो। तर जारीको तुलनामा जारी-२ निकै कमजोर भएपछि त्यसको असर फिल्मको व्यापारमा प्रत्यक्ष देखियो।

बाल गायक अशोक दर्जी अभिनीत फिल्म ‘मन बिनाको धन’ले ३ करोड ४० लाख ६३ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको छ। यो फिल्मलाई सङ्गीतकार टङ्क बुढाथोकीले निर्देशन गरेका हुन्।

अघिल्लो हप्ता प्रदर्शनमा आएको फिल्म ‘धागो’ र गत शुक्रवारबाट हलमा लागेको ‘लडाइँ पहिचान’को ग्रस कलेक्सन शून्य छ। यो फिल्मको बोर्डले बक्स अफिस ग्रस कलेक्सन सार्वजनिक गरेको छैन। हलमा लागेको दिन अर्थात् शुक्रवार साँझ दुवै फिल्म हलबाट हटेको थियो।

न यो फिल्म हलमा लाग्दा दर्शकले थाहा पाए,न कलाकारले नै। कसैले पनि यो फिल्म प्रदर्शनमा आएको पत्तो पाएनन्। फिल्म ‘धागो’मा अभिनेत्री सुरक्षा पन्तले मुख्य भूमिका छ। उनी आफैले पनि यो फिल्मको प्रचारमा चासो राखिनन्।

गत शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘लडाइँ पहिचान’मा करिश्मा मानन्धर,धिरेन शाक्य,प्रशान्त तामाङ लगायत चर्चित कलाकारहरूको अभिनय रहेको थियो। निर्माण पक्षले नै यो फिल्मको प्रचारमा चासो नराखेपछि उनीहरू पनि नतातेको देखियो।

भारतीय रियालिटी शो इन्डियन आइडल समेत भएका प्रशान्तको यो फिल्म सुपर फ्लप बन्यो। यसअघि उनले नेपाली फिल्म ‘गोर्खा पल्टन’,‘परदेशी’,‘निशानी’लगायतमा अभिनय गरेका थिए। परदेशीले व्यापारमा उनको नाक जोगाएको थियो भने यस पटकको फिल्म ‘लडाइँ पहिचान’ले पतन भयो। 

मंसिर ८, २०८२ सोमबार १७:४६:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।