विराटनगरको लगातार तेस्रो जित, साविक विजेता जनकपुरको दोस्रो हार

विराटनगरको लगातार तेस्रो जित, साविक विजेता जनकपुरको दोस्रो हार

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले लगातार तेस्रो खेलमा जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार विराटनगरले साविक विजेता जनकपुर बोल्टलाई ९ रनले पराजित गरेको हो। जनकपुरको भने यो लगातार दोस्रो हार हो।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १ सय ३६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा ओर्लिएको जनकपुरले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय २६ रन मात्र बनाउन सक्यो। कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङमा विराटनगरले तेस्रो जित निकालेको हो। 

जनकपुरका लागि जन निकोल लोफ्टाइ-एटनले सर्वाधिक ४१ रन बनाए। उनीबाहेक लाहिरु मिलन्थाले २३ रन बनाउँदा सन्जय कृष्णमुर्तीले २० रन बनाए। जनकपुरलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले घातक बलिङ गरे। उनले ४ ओभरमा ११ रन खर्चिएर ४ विकेट लिँदा सूर्य तामाङले २ र शुमन रञ्जना र मर्चेन्ट लङले १-१ विकेट लिए।

त्यसअघि विराटनगरका लागि शुभम रञ्जनले ३७ रन बनाउँदा बसिर अहमदले ३६ रन बनाए। त्यस्तै, लोकेश बमले २८ रन तथा मार्टिन गुप्टिलले १३ र जर्ज मुन्सीले १० रन बनाएका थिए। जनकपुरका लागि सञ्जित कोरी र रुपेश सिंहले २-२ विके लिँदा आदित्य महताले १ विकेट लिएका थिए।

मंसिर ८, २०८२ सोमबार १५:४९:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।