विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य

विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य
तस्बिर- दिपेश श्रेष्ठ/उकेरा

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भइरहेको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई जितका लागि १३६ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३५ रन बनायो।

सुरुवातमा विदेशी स्टार खेलाडीहरू सस्तैमा समेटिए पनि मध्यक्रमका ब्याटरहरूले विराटनगरको इनिङ्स उकासेका थिए।

विराटनगरका लागि शुभम रन्जानेले सर्वाधिक ३७ रन बनाए। उनले २९ बलमा २ चौका र २ छक्का प्रहार गरे। यस्तै, बसिर अहमदले ३५ बलमा ३ छक्कासहित ३६ रनको योगदान दिए।

ओपनर लोकेश बमले २८ रन (२६ बल) जोड्दा जर्ज मुन्सी १० रनमै आउट भए। अनुभवी ब्याटर मार्टिन गप्टिल १३ रन बनाएर पेभिलियन फर्किए भने नारायण जोशी २ रनमा आउट भए।

कप्तान सन्दीप लामिछाने शून्यमा र प्रतिश जिसी २ रनमा अविजित रहे।

बलिङतर्फ जनकपुरका रुपेश सिंह र सङ्गीत कुरायले कसिलो बलिङ गर्दै २-२ विकेट लिए। रुपेशले २ ओभरमा १२ रन मात्र खर्चे भने कुरायले ४ ओभरमा २६ रन दिए। आदित्य महताले १ विकेट हात पारे।

मंसिर ८, २०८२ सोमबार १३:५५:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।