पाकिस्तानमा सेनाको हेडक्वार्टरमा आत्मघाती आक्रमण, ३ कमान्डोसहित ६ जनाको मृत्यु
एजेन्सी : पाकिस्तानको पेशावरस्थित फ्रन्टियर कन्स्टेबुलरीको मुख्यालयमा सोमबार बिहान भएको दुईवटा आत्मघाती आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ३ जना सुरक्षा कमान्डो र ३ जना आक्रमणकारी रहेका छन्। घटनामा अन्य थुप्रै व्यक्ति घाइते भएका छन्।
अधिकारीहरूका अनुसार, सोमबार बिहान करिब ८ बजे हतियारधारी समूहले गोलीबारी र आत्मघाती विस्फोट गराउँदै कार्यालयलाई निशाना बनाएका थिए। घटना लगत्तै सुरक्षाकर्मीले ठुलो जवाफी कारबाही सुरु गरेका थिए।
प्रहरीका अनुसार, पारामिलिट्री फोर्सको भवनको मुख्य गेटमा दुईवटा विस्फोट भएका थिए। लगत्तै हतियारधारी आक्रमणकारीहरू भित्र प्रवेश गरेपछि सुरक्षाकर्मीसँग दोहोरो भिडन्त भएको थियो।
जवाफी कारबाहीमा एफसी कमान्डो र प्रहरीले क्याम्पसभित्रै तीनजना आक्रमणकारीलाई मारेका छन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार, यो आक्रमणमा कम्तीमा दुई आत्मघाती आक्रमणकारी संलग्न थिए। एक जनाले मुख्य गेटमा आक्रमण गरेपछि सिर्जना भएको मौका छोपेर अर्को आक्रमणकारी क्याम्पसभित्र छिर्न सफल भएको जनाइएको छ।
मुख्य गेटमा भएको विस्फोटमा ३ जना एफसी जवानको मृत्यु भएको थियो भने भित्र भएको गोलीबारीमा आक्रमणकारीहरू मारिएका थिए।
पेशावरका प्रहरी अधिकारी डा. मियाँ सइदका अनुसार, अहिले पूरै क्षेत्रलाई सिल गरिएको छ र थप खतरा नहोस् भनेर खोजी अभियान चलिरहेको छ।
मुख्यालयभित्र अझै पनि केही आतङ्कवादी लुकेको हुन सक्ने आशंकामा सेना र प्रहरीले उक्त क्षेत्रमा कडा घेराबन्दी गरेका छन्। एफसी मुख्यालय घना बस्ती र सैन्य क्षेत्रको नजिक रहेको छ।
पाकिस्तानी सेनाले यस आक्रमणको पछाडि प्रतिबन्धित समूह ‘तेहरिक-ए-तालिबान पाकिस्तान’को हात रहेको आरोप लगाएको छ। सेनाले विज्ञप्तिमा उनीहरूलाई ‘फितना-उल-खवारिज’ को संज्ञा दिएको छ।
पछिल्लो समय पाकिस्तानको खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा आतङ्कवादी गतिविधिमा तीव्र वृद्धि भएको छ। यसअघि सेप्टेम्बर महिनामा पनि खैबर पख्तुनख्वाको बन्नु जिल्लामा एफसी मुख्यालयमा आक्रमणको प्रयास भएको थियो, जसमा ६ जना सैनिकको मृत्यु भएको थियो।
मंसिर ८, २०८२ सोमबार १२:५८:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।