गुवाहाटी टेस्ट : भारतको ब्याटिङ धराशयी, फलोअनको खतरा

गुवाहाटी टेस्ट : भारतको ब्याटिङ धराशयी, फलोअनको खतरा

गुवाहाटी : भारत र दक्षिण अफ्रिकाबीच गुवाहाटीको वार्सापारा क्रिकेट स्टेडियममा जारी दोस्रो टेस्टमा घरेलु टोली भारत गम्भीर संकटमा परेको छ।

दक्षिण अफ्रिकाले खडा गरेको विशाल स्कोरको जवाफमा उत्रिएको भारतले आफ्नो पहिलो इनिङ्समा खराब प्रदर्शन गर्दै ७ विकेट गुमाइसकेको छ।

तेस्रो दिनको दोस्रो सत्रसम्म आइपुग्दा भारतले ५० ओभरमा ७ विकेट गुमाएर १४१ रन मात्र जोड्न सकेको छ। भारत हाल दक्षिण अफ्रिकाभन्दा ३४८ रनले पछाडि छ र टिममाथि फलोअनको खतरा मडारिएको छ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले आफ्नो पहिलो इनिङ्समा ४८९ रनको विशाल योगफल तयार पारेको थियो। दक्षिण अफ्रिकाका लागि तल्लो क्रमका ब्याटर सेनुरान मुथुसामीले उत्कृष्ट ब्याटिङ गर्दै १०९ रनको शतकीय पारी खेले।

त्यस्तै, मार्को जानसेनले आक्रामक ब्याटिङ गर्दै ९१ बलमा ९३ रनको योगदान दिए। भारतका लागि कुलदीप यादवले ४ विकेट लिए भने जसप्रित बुमराह, मोहम्मद सिराज र रवीन्द्र जडेजाले २-२ विकेट हात पारे।

जवाफी ब्याटिङमा आएको भारतको सुरुवात देखि नै खराब रह्यो। ओपनर यशस्वी जैसवालले ९७ बलमा ५८ रनको अर्धशतकीय पारी खेलेर इनिङ्स सम्हाल्ने प्रयास गरे पनि उनलाई अर्को एण्डबाट साथ मिलेन।

केएल राहुल २२ रनमा आउट भए भने साई सुदर्शन १५, कप्तान ऋषभ पन्त ७, ध्रुव जुरेल ० र रवीन्द्र जडेजा ६ रनमै पेभिलियन फर्किए। नितिश कुमार रेड्डी पनि १० रन बनाएर आउट भए।

भारतको ब्याटिङलाई ध्वस्त पार्न दक्षिण अफ्रिकाका मार्को जानसेन नायक बने। ब्याटिङमा ९३ रन बनाएका जानसेनले बलिङतर्फ पनि घातक प्रदर्शन गर्दै १५ ओभरमा ३९ रन खर्चेर महत्त्वपूर्ण ४ विकेट लिएका छन्। साइमन हार्मरले २ र केशव महाराजले १ विकेट लिए।

हाल क्रिजमा वासिङ्टन सुन्दर (१७ नटआउट) र कुलदीप यादव (१ नटआउट) संघर्ष गरिरहेका छन्।

मंसिर ८, २०८२ सोमबार १२:४५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।