स्पट फिक्सिङको दाग मेटाउँदै आदिल, सट्टेबाजीको घेरामा एनपीएल

स्पट फिक्सिङको दाग मेटाउँदै आदिल, सट्टेबाजीको घेरामा एनपीएल

काठमाडौं : नेपाली क्रिकेटमा ‘प्रतिभा’ र ‘विवाद’ बीचको सानो घेरामा रुमलिएका अलराउन्डर मोहम्मद आदिल आलमले अन्ततः आफ्नो ब्याटबाट जवाफ दिन थालेका छन्।

स्पट फिक्सिङको आरोपमा लामो समय मैदान बाहिर रहेका आदिलका लागि जारी नेपाल प्रिमियर लिग (एनपीएल) केवल एउटा प्रतियोगिता मात्र होइन, यो आफ्नो गुमेको प्रतिष्ठा फर्काउने ‘अग्निपरीक्षा’ हो।

करिब तीन वर्षको प्रतिबन्ध र मानसिक तनावपछि क्रिकेटमा फर्किएका आदिलले काठमाडौं गोर्खाजबाट खेल्दै पछिल्लो खेलमा देखाएको प्रदर्शनले उनी लयमा फर्कने संकेत गरेका छन्।

चार महिनाअघि भएको एनपीएल अक्सनमा आदिल आलम सबैभन्दा चर्चित नाम बनेका थिए। लामो समय राष्ट्रिय र घरेलु क्रिकेटबाट टाढा रहँदा पनि टोलीहरूले उनीमाथि देखाएको विश्वास लोभलाग्दो थियो।

आठवटै फ्रेन्चाइजीले अधिकतम मूल्य १५ लाख रुपैयाँको बोली लगाएपछि लक्की ड्रमार्फत काठमाडौं गोर्खाजले उनलाई भित्र्याएको थियो।

त्यसअघि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा कीर्तिपुर मैदान छिर्दा आदिल केही भावुक बनेका थिए। तर, प्रशिक्षणमा फर्कनु र ठूलो प्रतियोगितामा दबाबका बीच प्रदर्शन गर्नु फरक कुरा हो।

जारी एनपीएलमा उनको यात्रा उतारचढावपूर्ण देखिएको छ। काठमाडौं गोर्खाजबाट जारी लिगमा आदिलले खेलेका तीन खेलमा मिश्रित प्रदर्शन गरेका छन्।

जनकपुर बोल्ट्सविरुद्धको पहिलो खेलमा काठमाडौंले ५ विकेटको सहज जित निकाल्यो। उक्त खेलमा आदिलले ब्याटिङमा खासै मौका पाएनन्। उनले ४ बलमा १ छक्कासहित अविजित ८ रन बनाए। यो सुखद सुरुवात थियो तर उनी पूर्ण रूपमा परीक्षण हुन पाएका थिएनन्।

सुदूपश्चिम रोयल्सविरुद्धको दोस्रो खेल आदिल र उनको टिम दुवैका लागि बिर्सनलायक रह्यो। २९ रनले पराजित भएको खेलमा आदिल १ बलको सामना गर्दै ० रनमा एलबीडब्लु आउट भए।

विराटनगर किंग्सविरुद्धको खेलमा भने आदिलले आफ्नो वास्तविक क्षमता देखाए। काठमाडौंले हार ब्यहोरे पनि आदिलको ब्याटिङ उत्कृष्ट रह्यो। उनले २५ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै अविजित ४८ रन बनाए।

टिमका अन्य सिनियर ब्याटरहरू चल्न नसक्दा उनले १९२.०० को स्ट्राइक रेटमा रन जोड्दै आफूलाई प्रमाणित गरे। उनलाई उक्त खेलमा भाग्यले पनि साथ दिएको मान्नुपर्छ। उनी तीन पटकसम्म क्याचको अवसर पाए पनि विराटनगरका खेलाडीले क्याच छोडेपछि उनले उक्त रन बनाएका थिए।

विराटनगरसँगको खेलपछि आदिलले भने, ‘म बलिङ र ब्याटिङ दुवैका लागि तयार छु। कोच र क्याप्टेनले जति बेला लगाउँछन्, त्यसका लागि तयार छु।’ यद्यपि, उनले पावर प्लेमा टिम चुकेको र १५-२० रन कम हुँदा हार व्यहोर्नुपरेको स्वीकार गरे।

क्यानको दोहोरो चरित्र र फिक्सिङको त्रास
आदिल आलमको पुनरागमनको चर्चा गरिरहँदा नेपाल क्रिकेट संघ (क्यान)को भूमिकामाथि पनि गम्भीर प्रश्न उठेको छ। स्पट फिक्सिङको आरोपमा अदालतबाट सफाइ पाइसकेपछि पनि आदिलले लामो समय निलम्बन भोग्नुपर्यो। उनलाई घरेलु क्रिकेटसमेत खेल्न दिइएन।

तर, गम्भीर नैतिक पतन देखिने फौजदारी अभियोग लागेका र अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा पूर्व कप्तान सन्दीप लामिछानेलाई भने क्यानले हतार-हतार निलम्बन फुकुवा गरेर राष्ट्रिय टोलीमा फर्काएको थियो। ‘स्टार’ खेलाडीलाई काखा र सामान्य खेलाडीलाई पाखा गर्ने क्यानको यो प्रवृत्तिलाई धेरैले ‘संस्थागत कायरता’ को संज्ञा दिएका छन्।

विडम्बनाको कुरा के छ भने, जुन ‘फिक्सिङ’ को आरोपमा आदिलले करियरको महत्वपूर्ण समय गुमाए, अहिले एनपीएलकै दौरान कीर्तिपुर मैदान वरपर सट्टेबाजी र फिक्सिङको जालो फैलिएको पाइएको छ।

प्रहरीले सट्टेबाजीमा संलग्न ८ भारतीय नागरिकलाई पक्राउ गरिसकेको छ भने खेलाडीलाई ‘एक नो-बल फ्याँके १ करोड दिने’ प्रस्ताव गरेको आरोपमा एक भारतीय र एक नेपाली पक्राउ परेका छन्। अझ रोचक त के छ भने, फिक्सिङ रोक्नुपर्ने क्यान आफैँ सट्टेबाजी कम्पनीको सरोगेट विज्ञापन (डाफान्युज)को प्रचारमा संलग्न देखिएको छ।

मंसिर ८, २०८२ सोमबार १०:११:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।