एसिया कप राइजिङ स्टार्स : सुपर ओभरमा बंगलादेश ‘ए’ लाई हराउँदै पाकिस्तान ‘ए’ ले जित्यो उपाधि

एसिया कप राइजिङ स्टार्स : सुपर ओभरमा बंगलादेश ‘ए’ लाई हराउँदै पाकिस्तान ‘ए’ ले जित्यो उपाधि

एजेन्सी : एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२५ को फाइनल खेल निकै रोमाञ्चक बनेको छ।

कतारको राजधानी दोहामा आइतबार भएको उपाधि भिडन्तमा पाकिस्तान ‘ए’ ले बंगलादेश ‘ए’ लाई सुपर ओभरमा पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो।

टस जितेर पहिले फिल्डिङ गर्ने बंगलादेश ‘ए’ को निर्णय सही सावित हुँदा पाकिस्तान ‘ए’ को टोली २० ओभरमा १२५ रनमै अलआउट भयो।

पाकिस्तानका तर्फबाट साद मसुदले सर्वाधिक ३८ रन बनाए भने बलिङतर्फ बंगलादेशका रिपोन मण्डलले २५ रन खर्चेर ३ विकेट लिए।

१२६ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेश ‘ए’ ले पनि निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२५ रन मात्र बनाउन सक्यो। दुवै टोलीको स्कोर बराबर भएपछि खेलको निर्णय सुपर ओभरबाट गरिएको थियो।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको बंगलादेश ‘ए’ ले ६ रन मात्र जोड्न सक्यो। जवाफमा ७ रनको विजय लक्ष्य पाकिस्तान ‘ए’ का ब्याटरहरूले ४ बलमै पूरा गरे।

यसअघि सेमिफाइनल खेलमा बंगलादेश ‘ए’ ले भारतलाई पनि सुपर ओभरमै हराएर फाइनलको यात्रा तय गरेको थियो।

मंसिर ८, २०८२ सोमबार ०७:४९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।