एनपीएलमा आज दुई खेल, अपराजित यात्रा लम्ब्याउने दाउमा विराटनगर र सुदूरपश्चिम
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई वटा खेल हुँदैछन्।
पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेल बिहान ११:४५ बजे सुरु हुनेछ भने दोस्रो खेल दिउँसो ४ बजेबाट हुनेछ।
पहिलो खेल : दबाबमा जनकपुर, उच्च लयमा विराटनगर
पहिलो खेलमा विराटनगर किङ्स आफ्नो अपराजित यात्रा कायम राख्ने लक्ष्यसहित मैदान उत्रनेछ भने जनकपुर बोल्ट्स पुनरागमनको दबाबमा हुनेछ।
जारी संस्करणमा विराटनगरले बलियो उपस्थिति देखाइरहेको छ। पोखरा र काठमाण्डुविरुद्ध फराकिलो जित निकाल्दै विराटनगर सहज रूपमा प्लेअफ पुग्ने बाटोमा अग्रसर छ। घरेलु र विदेशी खेलाडीको उत्कृष्ट तालमेलका कारण गत संस्करणको तुलनामा विराटनगर यस पटक उपाधिको बलियो दाबेदार मानिएको छ।
यता, साविक विजेता जनकपुर बोल्ट्स भने पहिलो खेलमै काठमाण्डुसँग ५ विकेटले स्तब्ध बनेको थियो। कागजी रूपमा बलियो देखिए पनि मैदानमा सोही अनुसारको प्रदर्शन गर्न नसकेको जनकपुरलाई आजको खेलमा लय समाउने चुनौती छ।
गत संस्करणको उद्घाटन खेलमा जनकपुरले विराटनगरलाई ८ विकेटले हराएको इतिहास भए पनि यसपटक विराटनगर उच्च लयमा देखिएको छ।
दोस्रो खेल : सुदूरपश्चिमलाई रोक्ने कर्णालीको दाउ
दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुँदैछन्। सुरुवाती दुवै खेल जितेको सुदूरपश्चिम अपराजित रहँदै प्लेअफ पुग्ने लक्ष्यमा छ। घरेलु क्रिकेटका सफल खेलाडी र अनुभवी विदेशी ब्याटरको साथ पाएको सुदूरपश्चिमको ब्याटिङ लाइनअप तल्लो क्रमसम्म बलियो देखिन्छ।
अर्कोतर्फ, चितवन राइनोजसँगको हारबाट प्रतियोगिता सुरु गरेको कर्णालीले लुम्बिनी लायन्सलाई हराउँदै उत्कृष्ट पुनरागमन गरिसकेको छ। ९ विकेटको जित निकाल्ने क्रममा मार्क वाटले गरेको विष्फोटक ब्याटिङले टोलीको मनोबल उच्च बनाएको छ। गत संस्करणमा यी दुईबीच भएको भेटमा सुदूरपश्चिम ६ विकेटले विजयी भएको थियो।
प्रतियोगितामा हालसम्म ८ खेल सकिँदा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स अपराजित छन्। समान ४-४ अंक भए पनि नेट रन रेटका आधारमा विराटनगर शीर्ष स्थानमा छ। काठमाण्डु गोर्खाजले ३ खेल, जनकपुरले १ खेल र अन्य टोलीले २-२ खेल खेलिसकेका छन्। जनकपुर र पोखरा एभेन्जर्सले हालसम्म जितको खाता खोल्न सकेका छैनन्।
पहिलो पटक फ्लड लाइट र व्यवस्थित प्यारापिटमा खेलाइएको एनपीएलले नेपाली क्रिकेटमा नयाँ उत्साह थपेको छ। प्रतियोगितामा हालसम्म ब्याटिङमा विदेशी खेलाडी हावी देखिँदा बलिङमा भने नेपाली खेलाडीले आफ्नो साख जोगाएका छन्।
मंसिर ८, २०८२ सोमबार ०७:००:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।