‘अभिमन्यु द च्याप्टर–१’को नयाँ गीत ‘मरौँ ज्यानले’ को संगीत चोरी गरेको आरोप, गायक सत्यराज पनि रिसाए
काठमाडौं : सुशान्त गौतमले आफ्नो संगीत र स्वरमा फिल्म ‘अभिमन्यु : च्याप्टर–१’का लागि ‘मरौँ ज्यानले’बोलको गीत रिलिज गरे लगत्तै चोरीको आरोप लाग्यो।
गीत रिलिज लगत्तै गायक सत्यराज आचार्य र यसका अर्का सङ्गीतकार रिकेश गुरुङले आफ्नो संगीत चोरी गरेको गम्भीर आरोप लगाए।
गायक आचार्यले सो गीत आफूले पहिला नै गाएको र अहिले अरूले नै क्रेडिट समेत नदिएर गाएको भन्दै आपत्ति जनाए।
फिल्मका लागि राखिएको यो गीतमा गायन अनि संगीत दुबैमा सुशान्त गौतमको नाम छ। गीतको शब्द रचना सुरेश बादलको छ।
पहिला यो गीतको सङ्गीतकार रिकेश र गायक आफू रहेको दुवैले दाबी गरेका छन्। गीत रिलिजपछि गायक आचार्य र सङ्गीतकार रिकेश गुरुङले आफूमाथि अन्याय भएको भन्दै त्यसो नगर्न चेतावनी दिए।
गायक आचार्यले संगीतमा सामान्य चेत पनि नभएको मान्छे कसरी सङ्गीतकर्मी हुन सक्छ भन्दै क्षमतामाथि नै गम्भीर प्रश्न उठाएका छन्।
“मलाई गाउन लगाई सकेको गीत उ आफैले गाएता पनि एउटा अग्रज सङ्गीतकर्मी, उमेरमा पनि उ भन्दा निकै पाको र विशेष गरी नैतिकताको हिसाबमा पनि कमसेकम उसले मलाई खबर गरेर सबै कुराहरू जानकारी गराउनु पर्थ्यो” आचार्यले भनेका छन् “अनि फलाना कारणले यसो हुन गयो भनेर माफी माग्नु पर्थ्यो। तर त्यस्तो केही पनि ऊ बाट भएन। यतिसम्मको सामान्य चेत र नैतिकतासम्म नभएको मान्छे कसरी एउटा असल सङ्गीतकर्मी हुन सक्छ र?”
उनले आफू मौन रहेता पनि सङ्गीतकर्मी रिकेशमाथी परेको अन्यायमा आफू सहन नसकेको लेखेका छन्।
उनले थपे,“खासमा म मौन नै थिएँ तर मेरो प्यारो भाइ तथा एउटा सच्चा सङ्गीतकर्मी रिकेश गुरुङमाथि भएको मेरै किसिमको नैतिक अत्याचारको पर्दाफास स्ट्याटस आएपछि भने मलाई पनि चुप लागेर बस्न मन लागेन। अनि म माथी भएको मेरो नैतिक अधिकार शोषणको अन्याय पनि यसरी लेख्न विवश भएँ।”
यस गीतका पुराना सङ्गीतकार रिकेश गुरुङले आफ्नो संगीत अनुमति बिना प्रयोग गरिएको भन्दै त्यसलाई गम्भीरताका साथ लिन चेतावनी दिएका छन्।
“मेरो संगीत उत्पादन मेरो अनुमति बिना र क्रेडिट बिना प्रयोग गरियो,”उनले गौतमलाई चेतावनी दिँदै भने,‘ तिनीहरूले तार, लय, संगीत र संरचना उठाए, त्यसपछि यसलाई पुनः सम्पादन गरे। म चाहन्छु कि तपाईँले यसलाई गम्भीरतापूर्वक लिनुहोस्।”
उनले यो आफ्नो संगीतको दुरुपयोग र अव्यवसायतक भएको बताए।
उनले थपे, “अर्काको कामको नक्कल गर्ने अर्को कुराले तपाईँलाई कहिल्यै अगाडि लैजाँदैन। अन्तमा, मौलिक मौलिक हो। व्यावसायिक रूपमा बेइमान..।”
गीत विवादमा फिल्मको निर्देशक समेत गरेका गौतमले गीतको भाव अनुसार डमी नै फिल्ममा राखेको र दुवैको गीत नराखिएको दाबी गरे।
उकेरासँगको कुराकानीमा गौतमले पहिला आचार्यको स्वरमा गीत रेकर्ड गराएको तर फिल्मको कथा अनुसार नसुहाउने भएकाले डमीलाई नै राखेको दाबी गरे।
उनले संगीत चोरीबारे भने केही खुलाएनन्। फिल्मका निर्माता विनोद पौडेलले कथा अनुसार कुन गीत राख्दा हुन्छ भन्ने सल्लाह गरेर पुरानै राखिएको दाबी गरे। उनले सङ्गीतबारे आफूलाई जानकारी नभएको बताए।
“म्युजिकको पाटो आफूलाई थाहा भएन। यसबारेमा सुशान्त र रिकेशबीचको कुरा हो। सत्यराज दाइलाई रेकर्ड गरे बापत उहाँलाई पारिश्रमिक पनि दिएका थियौँ। उहाँले गाएको गीत फिल्मको कथाअनुसार भ्वाइस म्याच भएन भन्ने कुरा भयो। अहिले हाम्रै डाइरेक्टरकै भ्वाइसमा राम्रो सुनियो भनेपछि त्यही राखेको हो।”
मंसिर ७, २०८२ आइतबार २३:४१:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।