बिबिसीको स्ट्रिक्ट्ली कम डान्सिङका कलाकार बलात्कार आरोपमा पक्राउ
एजेन्सी : बिबिसीको लोकप्रिय नृत्य–प्रतिस्पर्धा कार्यक्रम स्ट्रिक्ट्ली कम डान्सिङसँग सम्बन्धित एक पुरुष कलाकार बलात्कार आरोपमा पक्राउ परेका छन्।
हर्टफोर्डशायर प्रहरीले उनलाई गत महिना पक्राउ गरी अनुसन्धान गरिरहेको र उनी जमानतमा रिहा भएको दसनले उल्लेख गरेको छ।
यसबारे बिबिसीका प्रवक्ताले “प्रहरी अनुसन्धानमा रहेको विषय” भन्दै कुनै प्रतिक्रिया दिएनन्।
ब्रिटिस पत्रिका द सन का अनुसार, ती व्यक्तिमाथि बिबिसीको एक कार्यक्रममा सहभागी भएपछि भेट भएकी महिलामाथि बलात्कार गरेको आरोप छ। आरोप लगाइएकी महिला स्ट्रिक्ट्ली कम डान्सिङकी प्रतिस्पर्धी वा पेशेवर नर्तकी थिइनन्, तर शोमा सहभागी भएकै कारण उनीहरूको भेट भएको बताइएको छ।
यो घटना हाल प्रसारण भइरहेको नयाँ शृङ्खलासँग सम्बन्धित नरहेको प्रहरीले जनाएको छ। हर्टफोर्डशायर प्रहरीले जारी गरेको विज्ञप्तिमा “अक्टोबर १३, सोमबार लन्डनमा बलात्कारको आशङ्कामा पक्राउ परेका एक पुरुषबारे अनुसन्धान भइरहेको उनी जमानतमा रिहा भएको” जानकारी दिएको छ।
यसै कार्यक्रमसँग सम्बन्धित अर्को एक पुरुष पनि गत अगस्टमा बलात्कारको आरोपमा पक्राउ परेका थिए। मेट्रोपोलिटन प्रहरीले उनीमाथि ‘बिना सहमति नजिकका तस्बिरको दुरुपयोग’ गरेको आरोपमा अनुसन्धान गरेको थियो।
२००४ देखि प्रसारण हुँदै आएको स्ट्रिक्ट्ली कम डान्सिङ पछिल्ला वर्षहरूमा पेशेवर नर्तक र सहभागी सेलिब्रिटीहरूको व्यवहारसम्बन्धी विवादका कारण धेरै पटक चर्चामा आएको कार्यक्रम हो।
गत वर्ष जियोभानी पर्निसेमाथि गलत व्यवहार र धम्की दिएको आरोप लागेको थियो। उनले आरोप अस्वीकार गर्दा–गर्दै पनि शो छाडे। ग्राजियानो डी प्रिमाले २०२३ की सह–नर्तकी जारा म्याकडरमोटलाई अभ्यासका क्रममा एक पटक लात हानेको स्वीकार गर्दै माफी मागेका थिए। उनले पनि कार्यक्रममा नआउने घोषणा गरेका थिए।
यसैबिच, यस वर्ष बिबिसीले शोका दुई कलाकारले लागुऔषध प्रयोग गरेको आशङ्कामा छुट्टै अनुसन्धान सुरु गरेको छ। ती कलाकारहरूको नाम भने सार्वजनिक गरिएको छैन।
मंसिर ७, २०८२ आइतबार १८:२१:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।