एनपिएलमा सट्टाको छाया : बल्खुमा समातिए आठ भारतीय, जुवामा एनपिएलको मिडिया पाट्नर नै सक्रिय
काठमाडौैं : नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गरेको आरोपमा प्रहरीले ८ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार बल्खुबाट उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले भारत आन्ध्रप्रदेशस्थित प्रकासम जिल्लाका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साई कुमार तम्मिसेट्टी र २८ वर्षीय सेख चन्द बसललाई आइतबार पक्राउ गरेको हो।
प्रहरीका अनुसार अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुनेगरी रकम लगानी गरी सट्टेबाजीमा संलग्न रहेको आधारमा उनीहरू पक्राउ परेका हुन्। प्रहरीले उनीहरूको साथबाट १५ थान मोबाइल बरामद गरेर थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ।
प्रहरीले यस अगाडि एनपिएलमा सहभागी टिममा रहेका खेलाडीहरू भेटेर म्याचफिक्सिङ गराउने प्रयास गरेको आरोपमा एक भारतीय र एक नेपालीलाई पक्राउ गरेको थियो। उनीहरूले ह्वाट्सएपबाट खेलाडीसँग सम्पर्क गरेर होटेलमा भेटी एउटा नो बल फ्याकेबापत एक करोड रुपैयाँसम्म दिने प्रस्ताव गरेको प्रमाणका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।
हरियाणा रानिमहाल पानीपतका २८ वर्षीय दिलप्रित सिंह र बर्दिया घर भई भारत चण्डिगढ बस्ने २४ बर्सिया रेविका सिंह ठकुरीले एनपिएलका खेलाडीहरुलाई स्पोन्सरको लोभ देखाएर उनीहरु बसेको होटलमै गएर म्याच फिक्सिङ गरे वापत एक करोडसम्म पैसा दिने प्रस्ताव गरेको अनुसन्धानमा खुलेको थियो। दुबै अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्।
सट्टा प्रवर्धन गर्दै एनपिएल आयोजक
यता प्रहरीले एनपिएलमा आधारित सट्टा खेल्ने र खेलाउने र म्याचफिक्सिङ गराउन सक्रिय रहेकाहरुविरुद्ध कारबाही प्रक्रिया तीव्र बनाउँदा उता एनपिएलको आयोजक क्यानले भने एनपिएलको मैदानबाट सट्टा गराउने र अनलाइन जुवा खेलाउने डाफाबेटको सरोगेट विज्ञापन डाफान्युजको प्रचार गरिरहेको छ।
डाफाबेट आफैंले पनि एनपिएलमा आधारित जुवा खेलाइरहेको छ। उकेराले प्राप्त गरेका विवरणहरू डाफाबेटले एनपिएल सुरु भएदेखि नै टिम अनुसार अनलाइन जुवा खेलाइरहेको छ। गत वर्ष क्यानले एनपिएलमा वुल्फत्रिपलसेभेन नामक अनलाइन जुवा खेलाउने कम्पनीलाई मिडिया पाट्नर बनाएको थियो।
नेपालमा प्रतिबन्धित अनलाइन जुवा खेलाउने कम्पनीको सरोगेट विज्ञापन राखेको ठहर गर्दै विज्ञापन बोर्डले एनपिएलमा सो विज्ञापन ल्याउने ब्रान्ड लजिक र टिसिएमलाई तीन महिना प्रतिबन्ध र १० हजार जरिवाना गराएको थियो। यस पटक एनपिएलमा सबै विज्ञापन क्यान आफैंले ल्याएको हो।
एनपिएलमा सहभागी आठ टिममध्ये सुदुरपश्चिमले पनि आफ्नो जर्सिमा अनलाइन जुवा खेलाउने कम्पनीको सरोगेट ब्राण्ड बाजीको प्रचार गरिरहेको छ।
एनपिएलको मैदानमा जुवा र रक्सीको विज्ञापन राखेको बारेमा क्यानलाई विज्ञापन बोर्ड र खेलकुद मन्त्रालय दुबैले सात दिनको समय तोकेर स्पष्टीकरण सोधे पनि जवाफ भने पठाएको छैन।
यस पटकको एनपिएलमा ओटिटी प्लेटफर्मदेखि नेपाली टेलिभिजनको प्रशारण अधिकारसम्मको टेण्डरमा बदमासी गरेको खुलिसकेको छ। ओटिटी विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको छ। टेलिभिजनमा प्रशारण अधिकारदिँदा ७७ लाख कम कबोलेको कान्तिपुर म्याक्सलाई दिएकोबारे उकेराले प्रमाणसहित समाचार प्रकाशित गरिसकेको छ।
एनपीएलबारे उकेराको श्रृंखला:
मंसिर ७, २०८२ आइतबार १७:१३:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।