शीर्ष स्थान जोगाउने दाउमा सुदूरपश्चिम र विराटनगर
काठमाडौं : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज सातौं दिन आइतबार खेल राखिएको छैन। नेपाल क्रिकेट सङ्घले यसअघि नै सार्वजनिक गरेको खेल तालिकामा आज विश्राम दिन राखिएको थियो।
भोलि (सोमबार) भने त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा दुई खेल हुनेछन्। बिहान ११:४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदैछ। त्यसैगरी, दोस्रो खेल दिउँसो ४:०० बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ।
हालसम्मको अङ्कतालिकाअनुसार दुई-दुई खेल खेलेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स चार-चार अङ्कसहित पहिलो र दोस्रो स्थानमा छन्। तीन खेल खेलिसकेको काठमाडौं गुर्खाज भने दुई अङ्क जोड्दै तेस्रो स्थानमा छ। दुई वटा खेल खेलेको पोखरा भने दुवै पराजित हुँदै पुछारमा छ।
मङ्सिर १ गतेदेखि सुरु एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्ग्स, चितवन राइनोज, काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दै छन्। मङ्सिर २७ गते फाइनल हुनेछ।
मंसिर ७, २०८२ आइतबार ०९:३०:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।