एमालेको विरोधमा भिडियो बनाएको भन्दै कुटिए टिकटकर अर्जुन

एमालेको विरोधमा भिडियो बनाएको भन्दै कुटिए टिकटकर अर्जुन

काठमाडौं : कोरियोग्राफर अर्जुन खड्काले मुख र ढाडमा लागेको चोटको भिडियो राख्दै एमालेबारे टिकटक भिडियो बनाउँदा आफू कुटिएको दाबी गरेका छन्।

मुखमा कुटपिटबाट लागेको दाग र ढाडमा लागेको चोट देखाउँदै उनले एमाले विरुद्ध भिडियो बनाउँछस्, झोले भन्छस् भन्दै पाँच-छ जनाको समूहले आफूलाई भक्तपुरमा कुटेको दाबी गरेका छन्। भक्तपुर प्रहरीका अनुसार कुटपिटको निवेदन भने आएको छैन।

भक्तपुरमा डान्स सेन्टर चलाएर बस्ने उनी र उनको आमा मिलेर टिकटकमा रमाइलो भिडियो बनाएर राख्ने गर्छन्। केही दिन अगाडि उनले एमालेको कार्यक्रममा भाग लिँदा पेट्रोल, मासुभात र पाँच हजार दिँदै छ रे भन्दै सटाएर हानेर भिडियो बनाएका थिए।

भिडियोमा उनको आमाले केपी ओलीको फोटो लिएर प्रश्न सोधेकी छिन्"के पाइस् केपी ओली जेनजी मारेर?"

मङ्गलवार डान्स सेन्टरको काम सक्काएर कोठामा फर्कने बेलामा भाइ यता आइज त भनेर बोलाएर आफूलाई कुटेको उनले बताएका छन्।

उनको आमाले पनि टिकटकमा भिडियो हालेर पाँच जना मिलेर आफ्नो छोरालाई कुटेको भन्दै सोधेकी छिन् "मेरो छोराले के गरेको थियो र कुटेको?" 

आफ्नो श्रीमान् पनि नभएको र सहारा नै छोरा भएको भन्दै भिडियोमा उनी रोएकी छिन्। भिडियोको कारण झोले भन्छस् भन्दै कुटेको उनको दाबीले कुटपिटमा एमाले समर्थक संलग्न रहेको देखाउँछ।

तर उजुरी नपरेकाले कुट्ने व्यक्ति एकिन हुन सकेको छैन। पछिल्लो समय एमाले विरोधीलाई तह लगाउन भनेर एमालेले केन्द्रदेखि जिल्लासम्म भोलेन्टियर फोर्स बनाएको छ। पार्टीको कार्यक्रममा आउन लागेका नेतालाई अवरोध गरेको भन्दै बारामा जेनजी प्रदर्शनकारीलाई कुट्दा कर्फ्यु लगाउनु पर्ने अवस्था आएको थियो।

मंसिर ६, २०८२ शनिबार १९:३०:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।