एनपीएलमा मार्क वाटको ‘विष्फोटक’ शतक, १२ ओभरमै लुम्बिनीमाथि कर्णालीको शानदार जित
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो खेलमा मार्क वाटको कीर्तिमानी र विष्फोटक शतकको मद्दतले कर्णाली याक्सले लुम्बिनी लायन्समाथि ९ विकेटको शानदार जित हात पारेको छ।
जितका लागि पाएको १ सय ५७ रनको लक्ष्य कर्णालीले मात्र १२.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो।
आजको खेल पूर्ण रूपमा स्कटल्यान्डका अलराउन्डर मार्क वाटको नाममा रह्यो। ओपनिङमा ब्याटिङ गर्न आएका वाटले लुम्बिनीका बलरहरूलाई निरीह बनाउँदै चौका र छक्काको वर्षा गरे।
उनले मात्र ४४ बलको सामना गर्दै अविजित ११४ रन को इनिङ्स खेले। २५९.०९ को स्ट्राइक रेटमा ब्याटिङ गरेका वाटले आफ्नो पारीमा १२ वटा विशाल छक्का र ६ वटा चौका प्रहार गरे।
वाटले मात्र २९ बलमा अर्धशतक पूरा गरेका थिए भने त्यसपछिको ५० रन जोड्न उनले मात्र १२ बल खर्चिए। उनले ४१ बलमै शतक पूरा गर्दै जारी एनपिएलमा सनसनी मच्चाए।
उनी एनपीएलमा शतक बनाउने दोस्रो खेलाडी हुन्। यसअघि अमेरिकाका खेलाडी एन्ड्र्यु गौसले पहिलो संस्करणको एनपीएलमा पोखरा एभेन्जर्सका तर्फबाट शतक बनाएका थिए।
ब्याटिङमा मात्र होइन, बलिङतर्फ पनि मार्क वाटले कसिलो प्रदर्शन गर्दै ३ ओभरमा १६ रन दिएर १ विकेट लिएका थिए।
कर्णालीको सुरुवात भने सामान्य थियो। ओपनर प्रियाङ्क पञ्चाल १२ रन बनाएर ३.५ ओभरमा आउट हुँदा टोलीको स्कोर ३८ रन थियो।
तर, त्यसपछि क्रिजमा आएका मार्क वाट र अर्का ओपनर विलियम बोसिस्टोले लुम्बिनीका बलरहरूलाई कुनै मौका दिएनन्।
बोसिस्टो र वाटले दोस्रो विकेटका लागि अविजित १२३ रनको साझेदारी गरे। बोसिस्टोले संयमित ब्याटिङ गर्दै २० बलमा २९ रन (२ चौका, १ छक्का) बनाएर वाटलाई साथ दिए।
लुम्बिनीका शेर मल्लले १ विकेट लिए पनि अन्य कुनै बलरले प्रभाव जमाउन सकेनन्। रोहित पौडेलले २ ओभरमा ३८ रन र गुल्बदिन नाइबले २ ओभरमा २५ रन खर्चिए।
यसअघि टस हारेर ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाए भने अन्त्यमा रुबेन ट्रम्पलम्यानले १४ बलमा २९ रनको आक्रामक पारी खेलेका थिए। जेजे स्मितले २३ रन जोडे।
बलिङतर्फ कर्णालीका नन्दन यादवले २ विकेट लिए भने सोमपाल कामी, गुल्सन झा, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले समान १-१ विकेट लिएका थिए।
पहिलो खेलमा चितवन राइनोजसँग पराजय भोगेको कर्णालीको यो पहिलो जित हो। त्यसैगरी पहिलो खेलमा चितवनलाई पराजित गरेको लुम्बिनीको यो पहिलो हार हो।
मंसिर ६, २०८२ शनिबार १४:१६:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।