टी-२० विश्वकपमा नेपाल ‘ग्रुप अफ डेथ’ मा
काठमाडौं : सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी-२० विश्वकपमा नेपाललाई निकै कठिन समूह (ड्र) पर्ने देखिएको छ।
क्रिकबजले सार्वजनिक गरेको अनौपचारिक विवरणअनुसार नेपाल ‘ग्रुप अफ डेथ’ मानिने समूहमा परेको छ, जहाँ विश्व क्रिकेटका ‘हस्ती’ राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।
विश्व वरीयताको १७औं स्थानमा रहेको नेपालले समूह चरणमा दुई पटकका पूर्व विश्वविजेताहरू इंग्ल्यान्ड र वेस्ट इन्डिजको सामना गर्नुपर्नेछ। नेपालको समूहमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली परेको छ।
विश्वकपको फर्म्याट अनुसार हरेक समूहबाट शीर्ष दुई टोली मात्र ‘सुपर एट’मा प्रवेश गर्नेछन्।
नेपालको समूहमा तीनवटा बलिया टेस्ट राष्ट्रहरू (इंग्ल्यान्ड, वेस्ट इन्डिज र बंगलादेश) रहेकाले नेपालका लागि अघिल्लो चरणको यात्रा निकै चुनौतीपूर्ण हुने देखिन्छ।
विशेषगरी बंगलादेश सब कन्टिनेन्टको कन्डिसनमा निकै खतरनाक मानिन्छ भने इंग्ल्यान्ड र वेस्ट इन्डिज टी-२० का पावरहाउस हुन्।
नेपालले अघिल्लो चरणमा पुग्नका लागि इटालीलाई हराएर मात्र पुग्दैन, कम्तीमा दुई ठूला टेस्ट राष्ट्रलाई नतिजा उल्ट्याएर हराउनुपर्ने हुन्छ।
एकातिर छिमेकी राष्ट्र तथा आयोजक भारत र पाकिस्तान तुलनात्मक रूपमा सहज समूह (नेदरल्यान्ड्स, नामिबिया र अमेरिकासहित)मा पर्दा नेपालले भने सुरुमै कडा अग्निपरीक्षा दिनुपर्ने भएको छ।
अर्का आयोजक श्रीलंकाको समूहमा पनि अस्ट्रेलिया, आयरल्यान्ड र जिम्बाब्वे जस्ता टेस्ट राष्ट्र हुँदा त्यो समूह पनि निकै कठिन बनेको छ।
आईसीसीले आगामी नोभेम्बर २५ मा मुम्बईमा औपचारिक रूपमा समूह विभाजन (ड्र) सार्वजनिक गर्ने तयारी गरेको छ। यो विश्वकप सन् २०२६ को फेब्रुअरी-मार्चमा आयोजना हुँदैछ।
मंसिर ६, २०८२ शनिबार १३:३८:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।