लुम्बिनीले कर्णालीलाई दियो १५७ रनको लक्ष्य, अर्धशतकबाट चुके रोहित

लुम्बिनीले कर्णालीलाई दियो १५७ रनको लक्ष्य, अर्धशतकबाट चुके रोहित

काठमाडौं : नेपाल प्रिमियर लिगको सातौं खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई जितका लागि १ सय ५७ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५६ रन बनायो।

लुम्बिनीको इनिङ्स उकास्न कप्तान रोहित पौडेलले कप्तानी पारी खेले। उनले ४३ बलको सामना गर्दै ४ चौका र २ छक्काको मद्दतमा ४९ रन बनाए।

उनी अर्धशतक बनाउन मात्र १ रनले चुके। रोहितलाई १७औँ ओभरमा कर्णालीका कप्तान सोमपाल कामीले क्याच आउट गराएका थिए।

त्यसअघि लुम्बिनीको सुरुवात खराब रह्यो। ओपनर सन्दीप जोरा १ रनमै आउट भए भने डार्सी सर्ट १९ रन, दिलिप नाथ ६ रन र गुल्बदिन नाइब ७ रन बनाएर पेभेलियन फर्किए।

एक समय १० ओभरमा ५९ रन मात्र बनाएको लुम्बिनी दबाबमा थियो। तर, तल्लो क्रममा आएका रुबेन ट्रम्पलम्यान र जेजे स्मितले इनिङ्स सम्हाले।

अन्तिमका ओभरमा आक्रामक ब्याटिङ गरेका रुबेनले १४ बलमा १ चौका र ३ छक्कासहित अविजित २९ रन बनाए। जेजे स्मितले १४ बलमा २३ रन जोडे। लुम्बिनीले अन्तिम ५ ओभरमा ६८ रन जोड्दै स्कोर १५० माथि पुर्याएको हो।

बलिङतर्फ कर्णाली याक्सका नन्दन यादवले सर्वाधिक २ विकेट लिए, यद्यपि उनी ४ ओभरमा ३८ रन खर्चिँदै केही महँगो सावित भए।

कप्तान सोमपाल कामी, गुल्सन झा, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले समान १-१ विकेट लिए। मार्क वाटले ३ ओभरमा १६ रन मात्र दिएर किफायती बलिङ गरे।

कर्णाली याक्सले अब केही बेरमा १ सय ५७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गर्नेछ।

मंसिर ६, २०८२ शनिबार १३:१२:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।