‘माथिल्लो मुस्ताङको संस्कृति र भूगोलले हानेपछि तोरकिन जन्मियो’

‘माथिल्लो मुस्ताङको संस्कृति र भूगोलले हानेपछि तोरकिन जन्मियो’
तस्बिर- दिपेश श्रेष्ठ/उकेरा

पत्रकारसमेत रहेका लेखक क्षितिज समर्पणद्वारा स्थानीय लवजमा निकै सरल भाषामा लेखिएको उपन्यास हो- ‘तोरकिन’

माथिल्लो मुस्ताङको संस्कृति, प्राकृतिक सौन्दर्य, इतिहास, जीवनशैलीदेखि जन्मअघि र मृत्युपछिसम्मको परिकल्पना अनि मिथकीय शैलीसम्मलाई समेटेर अहिले उनले निकै चर्चा बटुलिरहेका छन्।

लेखकले रित्तिँदै गएका बस्ती, पग्लिँदै गएका हिमाल, हराउँदै गएका सम्बन्ध र संस्कारलाई समेटेर माथिल्लो मुस्ताङको पनि अझ विशेषगरी चराङ गाउँको कथालाई मीठो र भावनात्मक रूपमा प्रस्तुत गरेका छन्।

‘तोरकिन’ शब्द आफैँमा स्थानीय भाषाको शब्द हो, जसको अर्थ हराउनु, लोप हुनु वा मासिनु भन्ने हुन्छ। पग्लिँदै गएको हिमाल हेर्न अहिले आन्तरिक पर्यटकको भिड तुलनात्मक रूपमा बढेको छ। ती भिडहरूले ‘तोरकिन’ लाई पक्कै पनि महसुस गर्न सक्नेछन्।

उनै लेखक क्षितिज समर्पणसँग उकेराकर्मीले माथिल्लो मुस्ताङसँगै त्यहाँको सामाजिक-सांस्कृतिक पक्ष, स्थानीय भाषा र लवज, यसका चुनौती र तोरकिनका पात्र निर्माणसम्मका विषयमा गरेको अन्तर्वार्ताको सम्पादित अंश:

तोरकिन उपन्यासबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ?
यो दुई महिनाको अवधिमा आफूले सोचेको भन्दा धेरै र राम्रा प्रतिक्रियाहरू आइरहेका छन्। यति छोटो समयमा यति धेरै र राम्रो प्रतिक्रिया आइरहेको देख्दा खुसी लागेको छ।

जुन व्यक्ति र जहाँको कथा लेखेँ, सांस्कृतिक कुराहरू आउँदा जोखिम पनि महसुस गरेको थिएँ। तर त्यहाँबाट पनि अपनत्व भएपछि म ढुक्क त थिएँ नै। सकारात्मक प्रतिक्रिया आउँछ भनेर केही हदसम्म थाहा पनि थियो।

साहित्यका दिग्गजहरूबाट पनि निकै माया र प्रोत्साहन पाइरहेको छु। ‘भाषाको हिसाबले पनि पहिलो उपन्यासजस्तो छैन’ भन्ने प्रतिक्रियाहरू पाउँदा अब दोस्रो किताब योभन्दा राम्रो लेखिनुपर्छ भनेर चुनौती पनि महसुस गर्दैछु।

तोरकिन नै लेखिनुपर्छ भनेर कसरी आकर्षित हुनुभयो?
संयोगले जन्मिएको किताब भन्छु म यसलाई। माथिल्लो मुस्ताङ नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो। पर्यटकीय सिजनमा म्याग्दीसम्मका होटलहरू भरिभराउ हुने गर्छन्। म पनि त्यसरी नै घुम्ने उद्देश्यका साथ नै त्यहाँ पुगेको थिएँ।

यत्तिकै घुम्न जाने भनेर साथीहरूसँग हामी निस्किएका थियौँ। त्यहाँका विषयमा लेख्छु भन्ने केही पनि थिएन। तर घुम्दै जाँदा त्यहाँको चराङ गाउँमा पुग्न पाएँ। त्यहाँका स्थानीयको अनुशासन, रहनसहन, संस्कृति, गुम्बा र दरबारको इतिहास अनि सामाजिक-सांस्कृतिक मिथकहरूले मलाई ‘हान्यो’।

ओहो ! यस्तो पनि छ है, यो कुरा त लेखिनुपर्ने कुरा हो। अरुले किन लेखिरहेका छैनन् यसबारे भन्नेजस्तो पनि महसुस भयो। अनि आफैँले लेख्नुपर्छ भन्ने लाग्यो।

सामान्यतया माथिल्लो मुस्ताङ घुम्न जाने भनेपछि मुक्तिनाथको दर्शन गरेर कागबेनी वा जोमसोम नै बसेर एकै दिनमा लोमान्थाङ पुग्ने गरेको देखिन्छ। त्यहाँ पुगेर लोमान्थाङ दरबार हेर्दै सरर कोरला नाकासम्म पुग्ने, राष्ट्रिय झन्डा ओढेर टिकटक, भिडियो, फोटो खिचेर फर्किने गर्छौं।

तर चराङ गाउँ, मेरो तोरकिन उपन्यासको केन्द्रीय भूमिले धेरै इतिहास र सभ्यताका कारण मलाई तान्यो। मुस्ताङको पहिलो राजा अमे पालले बनाएको दरबार यहीँ छ। त्यसबेलाका राजाका पुजारी ङयोर्छेन कुङगा साङबो तिब्बतियन हुनुहुन्थ्यो। उहाँले बनाएको गुम्बा पनि चराङमै छ।

चराङको अलि माथि मराङ गाउँ छ। त्यहाँ घार गुम्बा छ। यसलाई लो घेकर गुम्बा पनि भन्छन्। मराङ गाउँमा भएको कारणले मराङ गुम्बा पनि भन्छन्। गुम्बाको इतिहास पढ्दा तिब्बतको साम्ये गाउँमा बनेको विश्वको पहिलो गुम्बाभन्दा पनि अगाडि यो गुम्बा बनेको भन्ने जनविश्वास छ।

धर्म र मिथकसँग जोडिएका कुराहरूले पनि तान्यो। यी सब कुराहरू त बाइकमा सरर कोरला नाका पुग्नेहरूले छुटाउने भए। यी बीचका गाउँहरूका कुरा पनि थाहा पाउनुपर्छ। कम्तीमा दुई दिन मात्र भए पनि यहाँ बसिदिऊन्, यहाँका गुम्बा र दरबार सबैले हेरिदिऊन् भन्ने पनि लाग्यो।

म जाँदा सुरुमा एक हप्ता बसेको थिएँ। जम्मा पाँचवटा मात्र वडा भए पनि भूगोलको हिसाबले निकै टाढा छ। मेरा साथीहरू पनि यहाँ भएका कारण थप सहज पनि भयो। किताब ठुलो हुने भएका कारणले मैले अझै धेरै कुराहरू समावेश गर्न पाइनँ। किताबमा चङसी गुफालगायतका कुराहरू अटाउन सकिनँ।

कुन समयमा चाहिँ अब किताब लेखिनुपर्छ भन्ने लाग्यो?
घुम्दै गर्दा ओहो! भन्ने महसुस भयो। अनि पोखरा झर्दै गर्दा दिमागमा मलाई हानिराख्यो। यो कुरा लेख्न पाए हुन्थ्यो। म सक्छु कि सक्दिनँ भन्ने पनि भयो। मैले त्यही बेला साथीहरूलाई सुनाएँ। साथीहरूले हौसला दिएपछि त झन् लेख्नै पर्छ भन्ने पनि भयो।

२०८० सालको चैतमा घुम्न गएको, अनि काठमाडौं फर्किएपछि वैशाखको दोस्रो साता नलाग्दै म फेरि मुस्ताङ गएँ। लेख्नकै लागि भनेर गएपछि त्यहाँका स्थानीयसँग अन्तरघुलित हुनुपर्यो। भूगोल, इतिहास, संस्कृति बुझ्नुपर्यो। त्यसबेला दुई महिनाजति म त्यहीँ बसेँ।

उच्च स्थान भएको कारण स्वास्थ्यमा केही समस्या पनि हुन्थ्यो। अनि पोखरा झर्दै फेरि माथि जान्थेँ। त्यसबेला गुम्बा, दरबार, त्यहाँका स्कुलहरू गएँ। हेडसरहरूसँग कुरा गरेँ। सुरुमा त स्थानीयसँग दोहोरो संवाद गर्न पनि गाह्रो भयो। पछि सँगसँगै हिँड्ने, बस्ने गरेर घुलमिल भएपछि राम्रो प्रवाह भयो।

त्यहाँ सुरुमा जाँदा र अन्तिममा जाँदाको क्षण कसरी सम्झिनुहुन्छ? स्थानीयसँग प्रत्यक्ष कुराकानी गर्दाको यादगार पल कस्तो थियो?
सुरुमा त घुम्ने भनेर गएको तर फर्किंदा झोलाभरि कथा बोकेर फर्किएँ। अनि अब लेख्नुपर्छ भनेर जाँदा मैले जे फ्रेम बनाएर गएको थिएँ, त्योभन्दा परसम्म पुग्ने अवसर मिल्यो। फ्रेममा मात्र सीमित हुन सकिनँ।

काठमाडौं बसेर लेख्न थालेँ। धेरै कुरा टिपोट गरेको थिएँ। कति रेकर्ड पनि गरेको थिएँ। केही अन्योल भएमा फोनमा कुरा गर्थेँ। त्यहाँका धेरै स्थानीयहरू यहीँ बौद्धमा बस्नुहुन्छ। त्यहीँ गएर भेटेर पनि फेरि कुराहरू गरेँ।

सांस्कृतिक कुरामा संवेदनशील हुनै पऱ्यो। स्थानीयहरू सुरुमा अलि खुल्नुभएको थिएन। को मान्छे, किन यो? भन्ने पनि भएछ। पछि त्यहीँका स्थानीयहरूले नै एक अर्कालाई सहजीकरण गरिदिनुभयो। हाम्रो साथीको कार्यक्षेत्र पनि त्यहीँ भएको कारणले मलाई झन् सहज भयो।

हाकिम भनेपछि उहाँहरूले एकदम धेरै सम्मान गर्ने। अनि म हाकिमको साथी भनेपछि उहाँहरूले मलाई सम्मानको दृष्टिकोणले हेरिदिनुभयो। अहिले पनि त्यहाँका केही स्थानीयसँग फोनमा कुरा हुन्छ। अस्ति पोखरामा किताबको कार्यक्रम हुँदा भेट पनि भयो।

चराङ गाउँ त आफ्नै गाउँठाउँजस्तो पनि लाग्छ। त्यहाँका स्थानीयसँग निकटता भएछ। गाउँमा कोही बितेको कुरा सुनेँ भने नराम्रो लाग्छ। मैले किताबमा पनि उल्लेख गरेको छु। छिरिङ पेम्बा गुरुङ भन्ने बुवा हुनुहुन्थ्यो। यो किताब आइनसक्दै उहाँ बित्नुभयो। मैले उहाँलाई किताब देखाउन पाइनँ।

त्यस्तै माया विष्ट मुखिया दिदी हुनुहुन्थ्यो। किताब आउने आउने बेला उहाँको पनि निधन भएछ। उहाँले गाउँमा मुखियाका कुराहरू भन्नुभएको थियो। भूगोल, संस्कृति र धर्मको हिसाबले म फरक भए पनि चराङ मेरो लागि निकै प्रिय भयो। म आफैँ त्यहाँ हुर्किएजस्तो प्रेम भएछ।

मैले लेख्दै गरेको पाण्डुलिपि छोडेर तोरकिन लेखेँ। मेरो पहिलो उपन्यासका रूपमा तोरकिनको जन्म भयो। चराङ गाउँको कथा आयो। त्यही भएर चराङ गाउँ र त्यहाँका स्थानीयहरूप्रति म धन्य छु।

स्थानीय लवजको मिठास पनि किताबमा पढ्न सकिन्छ। लेखनको क्रममा स्थानीय लवज र मौलिक भाषाको संरचना प्रयोग गर्दाको अनुभव कस्तो रह्यो?
सुरुमा अलि अप्ठ्यारो भएको थियो। पछि सहज भयो। स्थानीय भाषा र लवजमा के भन्नुहुन्छ बुझ्दै गएँ। उहाँहरू खुलेर कुरा गर्न थालेपछि सहज भयो। त्यसमध्येमा एक जना छिरिङ ढुन्डुकले अरु भन्दा अलि राम्रोसँग नेपाली बुझ्नुहुन्छ। उहाँले सहजीकरण गरिदिनुभयो।

स्थानीयले नेपाली भाषा त बुझ्नुहुन्छ। तर जवाफ फर्काउन अलि अप्ठ्यारो हुन्छ। अनि लवजको कारणले हामीले झट्ट सुन्दा चाहिँ ठाडो बोली जस्तो सुनिन्छ। तर लवजको मिठास नै त्यही हो। हामीले ‘खाना खानु भयो?’ भनिरहँदा उहाँहरूले ‘खाना खायो?’ भन्नुहुन्छ। कुरा एकै हो।

त्यहाँको संस्कृति चालचलन मसिनो गरी केलाउनुभएको छ। स्थानीय र लवज भाषाको संरचना प्रयोग गर्दै गर्दा चुनौती कत्तिको महसुस गर्नुभयो?
काङग्योर (त्रिपिटक वाचन) पूरा वर्षमा एकपटक हुन्छ। संयोगले म त्यसबेला त्यहीँ थिएँ। अनि चराङमा महाकलाको थाङ्का पनि वर्षमा एक पटक मात्र देखाइन्छ। त्यो पनि हेर्न पाएँ। धोर्जेदेन गुम्बामा राखिएका त्रिपिटकहरू बोकेर गाउँको वरिपरि घुमाउनुहुन्छ। त्यो बेलामा अन्नपात राम्रो हुन्छ, गाउँमा पानी पर्छ भन्ने विश्वास छ।

गाउँमा पूरै समुदायले मनाउने विशेष दिनमा त्यहाँ बस्न पाउँदा धेरै कुरा सिकियो। लेख्न आएको भनेर थाहा पाउनुभएपछि एक जना दिदीले ‘ओ, सार तिमी राइटर हो?’ भन्नुभयो। मैले राइटर त होइन लेख्ने प्रयास गर्छु भनेँ। त्यसबेला उच्चारण लवज कसरी प्रयोग गर्ने भनेर ध्यान दिएँ।

त्यहीँको स्थानीयले नै दोभाषेको जस्तै सहयोग पनि गरिदिनुभयो। लेखिसकेपछि मैले त्यहाँ भएका संवादहरू ठिक छ/छैन भनेर पठाएँ। डेढ/दुई सय शब्दहरू पठाएको उहाँहरूले ठिक छ, यस्तै हो भनेपछि ढुक्क भएँ।

मैले जुन ठाउँको कथा लेखेँ, जुन भूगोल र संस्कृतिको बारेमा लेखेँ, उहाँहरूको भाषा र लवजलाई किताबमा गलत उल्लेख गरें भने त उहाँहरूले अपनत्व गर्नुहुन्न भन्ने लागेको थियो। तर उहाँहरूबाट सकारात्मक प्रतिक्रिया आएपछि एकदम खुसी भएँ।

त्यहाँका धेरै मानिसहरू देश/विदेशमा हुनुहुन्छ। कथाकै पात्रजस्तै। उहाँहरूले सामाजिक सञ्जालमा भएका आफ्ना ग्रुपहरूमा पनि कुरा गर्नुभएको रहेछ। उहाँहरूको पारिवारिक ग्रुपमा मेरो किताबको बारे चर्चा हुनु नै मेरो लागि ठुलो कुरा हो।

अहिले अन्य समुदायका पाठकहरूबाट पनि राम्रो प्रतिक्रिया पाइरहँदा ल ठिक छ भन्ने भयो। एक हिसाबले आत्मसन्तुष्टि पनि भयो। यो माथिल्लो मुस्ताङको मात्र कथा नभएर सम्पूर्ण नेपालको कथा हो। हुन त पाठक र समीक्षकहरूले भन्नुहोला।

तर तोरकिनको लेखकको हिसाबले यो विशुद्ध मौलिक उपन्यास हो। भर्खर अक्षर चिन्दै गरेका बच्चादेखि बुढो मान्छेसम्मले पढ्न मिल्ने किताब छ। भाषालाई सरल बनाउन खोजेको छु। कसैले किताब पढ्न अप्ठ्यारो मान्नुपर्ने छैन भन्ने मेरो दाबी हो।

स्थानीय लवजलाई पाठकले कसरी हेर्नुभएको पाउनुभयो?
पाठकबाट अलि अप्ठ्यारो भएको हो कि भन्ने पनि पाएको छु। मैले प्राक्कथन भनेर त बनाएको छैन। तर फन्टले हामीले संकेत गरेका छौँ। सुरुको फन्ट र अन्तिमको फन्ट- प्राक्कथन र उपसंहार।

सुरुसुरुमा चाहिँ उच्चारण अप्ठ्यारो भयो भन्नुभयो। किनभने आकारका कुराहरू छन्। ‘ओइ छेवाङ ढोका खोल्ता’ भन्ने छ। ‘खुल्लै छ हौ भित्रै आउना’ भनेको छ। म त्यहाँ गएँ, बसेँ, लवज सुनेको भएर भन्न अप्ठ्यारो भएन।

तर उहाँहरूको लवज प्रत्यक्ष नसुनेकाहरूलाई शब्दहरूमा आकार बढी देख्दा मिस्टेक पो भएर आकार भएको हो कि भन्ने पनि भएछ। पछि पढ्दै गर्दा अभ्यस्त भयौँ पनि भन्नुहुन्छ।

कतिपयले चाहिँ लामो संवाद भएको ठाउँमा पनि स्थानीय भाषा नराखेको भए पनि हुन्थ्यो भन्ने सुझाव दिनुभएको छ। यसलाई मैले मनन गरेको छु। आगामी लेखनमा पक्कै पनि यसले सहयोग गर्छ। पाठकहरूका लागि एउटा नयाँ स्वादको विषय पनि भइरहेको मैले पाएँ।

माथिल्लो मुस्ताङको जन्म, विवाह, मृत्यु संस्कार, रहनसहन, गुम्बा दरबार सब आउने गरी लेख्नुभएको छ। त्यहाँको भाषा, संस्कार, मिथक, इतिहास र बस्तीको अध्ययन गर्न कति समय लगाउनुभयो?
सबै स्थानीयकै सहयोग हो। अनि अलिअलि उहाँहरूले भनेको कुरालाई ‘क्रस भेरिफाइ’ गर्नको लागि अध्ययन पनि गरेँ। कतिपय कुराहरू सच्याउनको लागि सहयोग पनि भयो। समग्रमा स्थानीयले नै भन्नुभयो धेरै कुराहरू।

कतिपय कुराहरू चाहिँ उहाँहरूले गुरुङ कसरी लेख्नुभयो, गुरुङ कसरी हुनुभयो भन्ने कुरा मितिहरू थपघट भए। बाँकी सब कुरा उहाँहरूले भन्नुभएकोलाई लिएँ। सँगसँगै लेखन र अध्ययन गर्दै गर्दा सहज भयो।

सुरुमा त उपसंहार जुन अन्तिम भाग छ, त्यो लेखिएको हो। त्यो पनि मोबाइलमै लेखेको। ल्यापटपले राम्रोसँग काम गरेन। चराङमा नुथाङ भन्ने डाँडा छ। त्यो डाँडामा बसेर तल गाउँ हेरेँ, गुम्बा हेरेँ। वरिपरिका हिमाल हेरेँ। त्यसबेला लगभग १५ सय, दुई हजार शब्द मोबाइलमै लेखेँ।

किताबको नामको शब्द चयन कसरी गर्नुभयो? कसरी ‘तोरकिन’ नै हुन पुग्यो?
पहिला सबै कथा लेखिसकेँ। अनि सम्पूर्ण कथालाई बोक्ने शब्द के हुनसक्छ भनेर खोज्न थालेँ। लो भाषाको शब्दकोश खोजेँ। उहाँहरूले लो भाषा बोल्नुहुन्छ। शब्दकोश पनि भेटियो। त्यहाँका लामाहरूसँग पनि यस विषयमा कुरा गरेँ।

यो यो अर्थ आउने शब्द खोजिदिनुपर्यो भनेर आग्रह गरेँ। कतिपयले थाहा छैन पनि भन्नुभयो। पछि चराङ प्राथमिक विद्यालयका हेडसर कमल न्यौपानेसँग अर्थको शब्द खोजिदिनुपर्यो भनेँ। उहाँले उतैबाट ‘तोर’ भन्ने शब्द पठाउनुभयो।

सुरुमा मैले त्यही लेखेँ। फेरि स्थानीय भाषाहरू अपभ्रंश हुँदै गर्दा धेरै बिग्रिसकेको सम्झिएँ। अनि फेरि एकपटक शब्दकोश नै खोज्नुपर्यो भनेर खोज्न थालेँ। संयोगले शब्दकोशमा पनि भेटियो। तर ‘तोर’ होइन ‘तोरकिन’ हुने रहेछ भनेपछि किताबको नाम तोरकिन हुन पुग्यो।

यसको अर्थ हराउनु, हराएर जानु वा लोप हुनु भन्ने हुन्छ। माथिल्लो मुस्ताङको संस्कृति, परम्परा, रहनसहन जम्मै कुरा हराउँदै गएका छन्। हिमालबाट हिउँहरू हराउँदै गएका छन्। हाम्रा सम्बन्धहरूमा आफ्नोपन हराउँदै गएको छ। न्यानोपन हराउँदै गएको छ भन्ने कुरालाई दर्शाउन खोजेको भएर पनि यो शब्दले न्याय गर्ला भन्ने लागेर तोरकिन भएको हो।

नेपाली शब्दकोशमा यो शब्द छैन। सम्भवतः अब आगन्तुक शब्दको रूपमा राख्नुहुन्छ कि!

उपन्यासको पात्र चयन कसरी गर्नुभयो? पात्रको चरित्र विकास कसरी हुँदै गयो?
छेवाङ मेरो उपन्यासको मूलपात्र हुनुहुन्छ। अहिले उहाँ ४३/४४ वर्षको हुनुभयो। मैले उहाँसँग बस्दै गर्दा, कुरा गर्दै गर्दा उहाँकै जीवनबाट प्रभावित भएर मुख्य पात्र बनाएको हुँ।

एउटा सुखद संयोग भन्ने कि के भन्ने, यो किताबका धेरै घटनाहरू उहाँको वास्तविक जीवनमा घटेका हुन्। उहाँका घटनाहरूबाट म प्रभावित भएर त्यसलाई उपन्यासीकरण गरेको हुँ।

जस्तै: कथामा स्विटर बेच्नको लागि बेनियाँबाग (बेनी) जानुभएको, छोरा हराएको प्रसंग साँच्चै उहाँको जीवनमा घटेको हो। अनि अर्को कुरा उहाँको मनोविज्ञान। उहाँको आदर्श। जीवनमा धेरै आरोहअवरोह हुँदा पनि गाउँमै बस्ने, होटेल बनाउने कुराहरूले पनि तान्यो। यसलाई अझै आदर्श किन नबनाउने भनेर काल्पनिक पनि बनाएँ।

कुन्साङ पात्र छेवाङको जीवनमा आएको पात्र हो। मैले जन्मअघिदेखि मृत्युपछिसम्मको कुरा लेखेको छु नि किताबमा। एउटा पात्र यस्तो पनि हुनसक्छ भनेर काल्पनिक बनाइयो। खासगरी तिजी र फाग्नीको सांस्कृतिक पक्ष देखाउनको लागि पनि मैले त्यसरी पात्र चयन गरेको हुँ।

त्यस्तै कर्चुङ दिदीलाई मैले मराङ गाउँको पात्र बनाएको छु। उहाँ वास्तवमा चराङकै हुनुहुन्छ। उपन्यास लेख्दै गर्दा उहाँको नाम र पहिचान सम्झिएँ। चराङकै बनाइदिँदा वास्तविक नै भएछ भन्ने हो कि भनेर अलि फरक गरेँ।

‘हिमालमा हिउँ थामिएन, गाउँमा मान्छे’ लगायतका धेरै ठाउँमा प्रकृतिको पनि कुरा गर्नुभएको छ। पूरै उपन्यासलाई संस्कृति मात्र नभएर प्रकृतिसम्म जोड्नुभएको छ। सबैलाई जोडेर सिंगो कथा भन्नुपर्छ भनेर कसरी लाग्यो?
मुस्ताङलाई हामी हिमालपारिको जिल्ला भन्छौँ। गाउँको माथिपट्टि चारैतिर धेरै हिमाल छन्। तर हिउँ छैन। मैले त्यहाँका मान्छेहरूसँग सोधेको पनि थिएँ। ‘हिमालहरू पहिला पनि यस्तै हुन्थ्यो? यो समयमा?’ भनेर सोध्दा ‘हुँदैन, हिउँ धेरै हुन्थ्यो, अहिले रित्तियो’ भन्ने जवाफ पाएँ।

एकातिर जलवायु परिवर्तनले मानव जीवनमा निम्त्याएको संकट एकदम डरलाग्दो छ। मैले किताबमा पनि उल्लेख गरेको छु। धे गाउँका मानिसहरू पानीको मुहान सुकेर तल थानचुङमा आएर बस्नुभएको छ। त्यहाँबाट पनि भोलि सर्नुपर्ने बाध्यता आउन सक्छ।

हिमालमै पनि पानी नहुने हो भने हाम्रो प्रकृति कहाँ रहन्छ ! प्रकृतिसँग त मानव जीवन पनि जोडिएको छ। यसो यता हेर्यो गाउँ पनि रित्तिएको छ। त्यही भएर पनि यो चराङको मात्र कथा होइन। मेरै गाउँको पनि कथा हो। त्यसैले खोला, हिमाल र गाउँलाई पनि मैले पात्रकै रूपमा प्रस्तुत गरेको छु।

मान्छे पात्र एकदम सीमित मात्र बनाएको छु नि। धेरै पात्र बनायो भने गन्जागोल हुन्छ भनेर पाँच-सात जना पात्रलाई मात्र दोहोर्याइरहेको छु। प्रसंगवश जोडिने पात्रबाहेक छेवाङ, पेम्बा, कुन्साङ, कर्चुङ, छुक्की र नामग्याल।

हिमाली क्षेत्र भनेको त हिमालका कारणले भएको हो नि। त्यहाँको चरण क्षेत्र, अन्नपात वा सौन्दर्य त हिमालसँगै सुक्दै गएको छ। हिमाल नै नभएपछि त यो सब संकटमा हुने भयो। मानव जीवन पनि संकटमा पऱ्यो। यो कुरालाई जोडेर लेख्नुपर्छ भनेर सुरुमै पनि लागेको हो।

लेख्दै जाँदा जसरी लेख्न खोजेको त्यही सपोर्ट हुने कुरा मात्र खोजिने रहेछ।

रित्तिँदै गएका बस्ती, पग्लिँदै गरेका हिमाल, चिसिँदै गएका सम्बन्ध, हराउँदै गएका संस्कार र परम्पराको कथा उपन्यासभर पाइन्छ। लेखक आफैँले कत्तिको न्याय गर्न सकेँ भन्ने लाग्छ?
अरु मान्छेको के हुन्छ थाहा छैन। तर म आफैँ असन्तुष्ट प्राणी हुँ कि भन्ने पनि लागेको थियो। मलाई दशैंअघि किताब जसरी पनि ल्याउनुपर्छ भन्ने लाग्यो।

दशैं-तिहारको बीचमा मान्छेले पढ्छन्। र किताबले राम्रो प्रतिक्रिया पायो भने दशैं-तिहारभन्दा पछि किताबको परिचर्चा गर्छु होला भन्ने लागेको थियो। त्यही भएर प्रकाशकसँग पनि दशैंअघि किताब ल्याउनुपर्छ है भनेको थिएँ।

किताब आयो। प्रतिक्रिया पनि राम्रै आयो। धेरैले उत्साह पनि दिनुभयो। तर आफैँले सरर पढ्दै गर्दा अझै राम्रो गर्न सक्थेँ हुँला। अझ मिठोसँग प्रस्तुत गर्न सक्थेँ भन्ने पो लाग्यो।

त्यतिबेला त ‘पुग्यो मलाई यति भएपछि हुन्छ’ भन्ने भएको थियो। किताब आएपछि अझै राम्रो गर्न सक्थेँ, अझै राम्रो प्रतिक्रिया पाउन सक्थेँ भन्ने लोभ पनि भयो।

हुन त मेरो एक जना साथीले ‘हरेक किताबले आफ्नो भाग्य आफैँ बोकेर ल्याउँछ। हेरौँ तेरो किताबले के गर्छ’ भन्नुभएको थियो। यो किताबलाई जन्मिनु त्यही बेला थियो होला। आफ्नो सम्पूर्ण कुरा किताबले बोकेर ल्याएको छ भनेपछि ठिक छ। यो ठिक समयमा आएको छ, ठिक भयो भन्ने पनि लाग्छ।

तोरकिनको मिथकीय शैलीबारे पनि निकै चर्चा भइरहेको छ। उपन्यासमा मिथक र त्यहाँका राजाको विषयमा स्वाभाविक रूपमा जोडिँदै गयो कि पहिले नै जोड्छु भन्ने थियो?
कतिपय कुरा सुरुमा जोड्छु भन्ने नै थियो। तर मिथक यति धेरै रहेछन् कि कुनै पनि छोड्न मन लागेन। त्यही गुम्बा बन्ने प्रसंग चाहिँ जोड्छु भन्ने थियो। अनि दरबार बनाउने मिस्त्रीको हात काटिएको प्रसंग छ। त्यो मैले त्यहाँको दरबारमा हात नै देखेँ। कौतुहल भएर सबैसँग सोध्दा एकै कुरा आएपछि यो जोड्नुपर्छ भन्ने लाग्यो।

मिथकहरूलाई लिएर राम्रो प्रतिक्रिया पनि आइरहेको छ। माथिल्लो मुस्ताङ गइसक्नुभएकाहरूले ‘हामीले यो छुटाएछौँ’ भन्नुभएको छ। कतिपयले यो किताब पढेपछि ‘अब म जान्छु’ भन्नुभएको छ। मलाई लाग्छ यो किताबले माथिल्लो मुस्ताङ खासगरी चराङकै पर्यटन प्रवर्द्धनमा पनि राम्रो सहयोग पुग्छ होला।

पाठकले यसलाई कसरी हेरिदिऊन् भन्ने लागेको छ?
यो मौलिक उपन्यास हो। किताबप्रेमीहरूलाई मेरो आग्रह- नेपाल भौगोलिक, सांस्कृतिक, सामाजिक विविधताले भरिपूर्ण देश हो। हामी एउटा ठाउँको व्यक्तिले अर्को ठाउँको परम्परा, संस्कार, विविधताको बारेमा जान्नुपर्छ जस्तो लाग्छ।

नेपाल भनेको हामीले देखेको मात्र होइन। नेपाल हामीले सोचेको भन्दा बढी विशाल छ। किताबलाई ग्रहण गर्ने कुरा त कसैले जलवायु परिवर्तनको दृष्टिकोणले पनि हेर्नुभएको छ।

एउटा अग्रज लेखकले तोरकिनलाई प्रेमको कथा, त्यागको कथा पनि भन्नुभएको छ। ग्रहण गर्ने कुरा पाठकले जसरी ग्रहण गर्न मन लागेको छ त्यसरी गरिदिनुस्। किताबको विषयमा कसैले राम्रो भनिदिएको छ भने पनि एकदम धेरै अपेक्षा राखेर कुरा नगरिदिनुस्। ठिक्क राखेर पढ्नुस्।

किनभने कसैले धेरै राम्रो भनेको रहेछ, तपाईंले त्यस्तो पाउनुभएन भने नराम्रो लाग्न सक्छ। अथवा कसैले नराम्रो छ भनेको छ भने पनि एक पटक आफैँ पनि पढिदिनुस्। आफ्नो हिसाबले पढेर ग्रहण गरिदिनुस्।

हिजो मैले गीत लेखेँ, कविता लेखेँ, गजल लेखेँ। तर उपन्यासकै रूपमा आएको यो पहिलो कृति भएको कारणले पनि मलाई हौसला र ऊर्जा थप्नको लागि पनि पाठकहरूले पढिदिनुहुनेछ भन्ने आशा छ।

​​​​​​​

अन्तिममा पढ्न बाँकी पाठकहरूलाई केही भन्न चाहनुहुन्छ?
किताब पढ्न रुचाउने अझ त्यसमा पनि उपन्यास पढ्न रुचाउनुहुन्छ भने एक पटक किताब पढिदिनुस्। उपन्यासमा पनि अझ मौलिक, सांस्कृतिक उपन्यास पढ्न रुचाउनुहुन्छ भने कृपया तपाईंले एकपटक किताब पढ्नै पर्छ। समग्रमा सबै पाठकहरूसमक्ष यो किताब पुगोस् भन्ने चाहना छ।

नेपाली साहित्य क्षेत्रमा भर्खर आउँदै गरेको लेखकको हिसाबले जति सक्यो धेरै पाठकले मेरो किताब पढिदिनुस् भन्ने लाग्ने रहेछ। जसले अहिलेसम्म मेरो किताब पढेर मलाई प्रतिक्रिया दिनुभएको छ, यो असीम माया र प्रेमप्रति एकदम धेरै धन्य छु।

जसले सुन्नुभएको छ, पढ्नुभएको छैन भने पनि पढेर मलाई सल्लाह सुझाव मज्जाले दिनुहोला। गाली गर्न मन छ, हौसला दिन मन छ, ऊर्जा दिन मन छ भने पनि मज्जाले प्रतिक्रिया दिन सक्नुहुन्छ।

पढ्नुभएपछि किताबबारे आफ्नो केही कुराहरू लेखिदिनुस्, बोलिदिनुस् भनिदिनुस् भन्ने आग्रह गर्दछु।

मंसिर ६, २०८२ शनिबार १२:२०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।