एनपीएल : कर्णाली याक्सले टस जित्यो, लुम्बिनी लायन्सलाई ब्याटिङको निम्तो

एनपीएल : कर्णाली याक्सले टस जित्यो, लुम्बिनी लायन्सलाई ब्याटिङको निम्तो

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सातौं खेलमा कर्णाली याक्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केही बेरमा सुरु हुन लागेको खेलमा कर्णालीले फिल्डिङ रोजेपछि लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्नेछ।

जारी लिगमा लुम्बिनी लायन्सको यो दोस्रो खेल हो। पहिलो खेलमा जित हात पारेको लुम्बिनी २ अंकसहित अंक तालिकाको माथिल्लो स्थानमा उक्लिने दाउमा छ। टोलीको नेतृत्व राष्ट्रिय टोलीका कप्तान समेत रहेका रोहित पौडेलले गरिरहेका छन्।

अर्कोतर्फ, कर्णाली याक्सले आफ्नो पहिलो खेलमा हार व्यहोरेको थियो। आजको खेलमा जित निकाल्दै कर्णाली प्रतियोगितामा खाता खोल्ने योजनामा छ।

आजको खेलमा लुम्बिनीका कप्तान रोहित पौडेल र सन्दीप जोरा ब्याटिङमा जम्न सक्छन्। तथ्यांकअनुसार रोहितले पछिल्ला ८ खेलमा ३९.७५ को औसतले ३१८ रन बनाएका छन्। त्यस्तै, बलिङतर्फ लुम्बिनीका अभिषेक गौतम र कर्णालीका विपिन शर्मा तथा सोमपाल कामीको प्रदर्शन महत्त्वपूर्ण हुनेछ।

लुम्बिनीको प्लेइङ-११ मा अस्ट्रेलियन खेलाडी डार्सी सर्ट, अफगानिस्तानका गुलबदिन नाइब, नामिबियाका जेजे स्मित र रुबेन ट्रम्पलम्यान जस्ता विदेशी खेलाडीहरू समावेश छन्। कर्णालीले पनि विदेशी खेलाडीसहितको बलियो टोली मैदानमा उतारेको छ।

मंसिर ६, २०८२ शनिबार ११:१४:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।