एशेज पहिलो टेस्ट : अस्ट्रेलिया १३२ रनमै अलआउट, इंग्ल्यान्डलाई ४० रनको अग्रता
एजेन्सी : अस्ट्रेलिया र इंग्ल्यान्डबीच पर्थको अप्टस स्टेडियममा जारी एशेज सिरिजको पहिलो टेस्ट रोमाञ्चक मोडमा पुगेको छ।
शनिबार खेलको दोस्रो दिन अस्ट्रेलियाको पहिलो इनिङ्स १३२ रनमै समेटिएको छ। यससँगै इंग्ल्यान्डले पहिलो इनिङ्समा ४० रनको महत्वपूर्ण अग्रता प्राप्त गरेको छ।
इंग्ल्यान्डलाई अग्रता दिलाउन कप्तान बेन स्टोक्सले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए।
शनिबार अस्ट्रेलियाले आफ्नो हिजोको स्कोर १२३/९ बाट खेल अगाडि बढाएको थियो। तर टोलीले धेरै समय क्रिजमा बिताउन सकेन।
नाथन लायन आउट भएसँगै अस्ट्रेलियाको पहिलो इनिङ्स सकियो। लायनलाई ब्राइडन कार्सले बेन डकेटको हातबाट क्याच आउट गराए।
यसअघि शुक्रबार टस जितेर पहिले ब्याटिङ रोजेको इंग्ल्यान्डको निर्णय गलत साबित हुँदा टोली १७२ रनमै अलआउट भएको थियो। तर, अस्ट्रेलियाले पनि यसको फाइदा उठाउन सकेन।
पर्थको पिचमा बलरहरू हाबी हुँदा पहिलो दिन नै दुवै टोलीका गरी कुल १९ विकेट खसेका थिए। रोचक कुरा के छ भने, पहिलो दिन खसेका सबै विकेट तीव्र गतिका बलरहरूले लिएका थिए।
पहिलो दिनको खेल सकिँदासम्म अस्ट्रेलियाले ९ विकेट गुमाएर १२३ रन बनाएको थियो।
एशेजको इतिहास र अस्ट्रेलियाको दबदबा
एशेज सिरिजको ट्रफी हाल अस्ट्रेलियासँग सुरक्षित छ। अस्ट्रेलियाले २०२१ को सिजनमा ५ मध्ये ४ खेल जितेको थियो भने २०२३ को सिरिज २-२ को बराबरीमा सकिएको थियो।
इतिहास हेर्दा एशेजमा अस्ट्रेलियाको पल्ला भारी देखिन्छ। हालसम्म दुई देशबीच ७३ वटा एशेज सिरिज खेलिएका छन्। जसमा अस्ट्रेलियाले ३४ सिरिज जितेको छ भने इंग्ल्यान्डले ३२ सिरिज आफ्नो नाममा गरेको छ। बाँकी ७ सिरिज बराबरीमा सकिएका छन्।
मंसिर ६, २०८२ शनिबार १०:४८:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।