अमेरिकी क्रिकेटर अखिलेश रेड्डी निलम्बित, म्याच फिक्सिङसहित तीन गम्भीर आरोप
दुबई : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले संयुक्त राज्य अमेरिकाका क्रिकेटर बोडुगम अखिलेश रेड्डीलाई भ्रष्टाचार विरोधी संहिता उल्लंघन गरेको अभियोगमा निलम्बन गरेको छ।
इमिरेट्स क्रिकेट बोर्ड (ईसीबी)को तर्फबाट आईसीसीले उनीमाथि तीनवटा गम्भीर आरोप लगाएको हो। युएईमा जारी ‘अबुधाबी टी-१० लिग २०२५’ का क्रममा उनीमाथि यी आरोपहरू लागेका हुन्।
प्रतियोगिताको भ्रष्टाचार विरोधी निकायका रूपमा काम गरिरहेको आईसीसीले रेड्डीमाथि निम्न तीन बुँदामा संहिता उल्लंघन गरेको आरोप लगाएको छ।
१. खेल प्रभावित पार्ने प्रयास (धारा २.१.१): अबुधाबी टी-१० लिगका खेलहरूको नतिजा, प्रगति वा आचरणलाई अनुचित रूपमा प्रभावित पार्ने, फिक्सिङ गर्ने प्रयास गरेको वा सोसम्बन्धी सम्झौतामा संलग्न भएको।
२. अरुलाई उक्साएको (धारा २.१.४): प्रतियोगिताका दौरान अन्य सहभागी वा खेलाडीलाई खेल मिलेमतो (फिक्सिङ) गर्नका लागि उक्साएको, प्रस्ताव गरेको, निर्देशन दिएको वा सहजीकरण गर्ने प्रयास गरेको।
३. छानबिनमा अवरोध (धारा २.४.७): अनुसन्धानका क्रममा प्रमाण मेटाउने उद्देश्यले आफ्नो मोबाइलबाट सान्दर्भिक डाटा र म्यासेजहरू डिलिट (हटाएर) गरी छानबिनमा अवरोध पुर्याएको।
यी आरोपहरूसँगै रेड्डीलाई तत्काल लागू हुने गरी सबै प्रकारका क्रिकेट गतिविधिबाट अस्थायी रूपमा निलम्बन गरिएको छ। उनले आफूमाथि लागेको आरोपको जवाफ दिन २०२५ नोभेम्बर २१ देखि १४ दिनको समय पाएका छन्।
अनुशासनात्मक कारबाहीको प्रक्रिया टुंगो नलागेसम्म यसबारे थप टिप्पणी नगर्ने आइसिसीले जनाएको छ।
मंसिर ६, २०८२ शनिबार ०८:२१:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।