ओलीविरुद्धको मत दबाउन एमालेमा नयाँ खेल, महासचिव पोखरेल अग्रमोर्चामा
काठमाडौं : एमालेभित्र फरक मत दबाउन नेतृत्वले नयाँ रणनीति अघि सारेका छन्। पार्टीमा असन्तुष्ट नेताहरूले भदौ २३ को जेनजी आन्दोलनसम्म नेपाली समाज पुग्नुको कारणबारे समीक्षा गर्न र निकास खोज्न छलफलका लागि फरक प्रतिवेदन ११ औँ राष्ट्रिय महाधिवेशनमा लैजाने तयारी गरिरहेको बेलामा एमाले संस्थापन पक्षले त्यसलाई रोक्न महाधिवेशन नेतृत्व चयनमा मात्र केन्द्रित हुने प्रचार गर्न थालेका छन्।
एमाले महासचिव शङ्कर पोखरेलले ११ औँ राष्ट्रिय महाधिवेशन पार्टीको नेतृत्व चयनमा मात्र केन्द्रित हुने बताए। नेपाल निर्माण उद्योग परिषद्को प्रथम राष्ट्रिय भेलामा आज यहाँ उनले ललितपुरको गोदावरीमा गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पार्टीको नीति र विधि निर्माण गरिसकेकाले आगामी महाधिवेशन नेतृत्व निर्माणमा मात्र केन्द्रित हुने बताए।
'हामीले भर्खरै गोदावरीमा सम्पन्न पार्टीको दोस्रो विधान महाधिवेशनमा छलफल गरेर पार्टीको नीति बनाइसकेका छौं। त्यो नीतिमा कसैले पनि असहमति जनाएका छैनन्,' उनले भने, 'ललितपुरमा भएको केन्द्रीय कमिटी बैठकमा पनि जेनजी आन्दोलनबारे पार्टीले दृष्टिकोण बनाएको छ। त्यसैले अब ती नीति, विधि र दृष्टिकोणमा छलफल आवश्यक छैन, नेतृत्वको चयन हुन्छ।'
केही दिन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि पार्टीको महाधिवेशन आफ्नो निर्देशनात्मक मन्तव्यपछि बिना छलफल सकिने भनेका थिए। महाधिवेशनमा आफ्नो तर्फबाट उद्घाटन मन्तव्य मात्रै आउने र त्यसमा छलफल पनि नहुने उनको भनाइ थियो। अहिले एमाले संस्थापन पक्षले सोही विषयमा जोडबल लगाइरहेका छन्।
एमालेको महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौंमा तोकिएको छ। महासचिव पोखरेलले उनले बलियो राजनीतिक शक्तिको निर्माण सही नीति, कार्यक्रम र प्रभावकारी नेतृत्वबाट मात्र हुने धारणा राखे। संविधान र कानुनअनुसारको राज्य निर्माणको बाटोमा एमाले प्रतिबद्ध रहेको उनले बताए। उनले अहिलेको असामान्य परिस्थितिमा विशेष साङ्गठनिक योजनाका साथ पार्टी अगाडि बढ्न खोजेको उल्लेख गरे।
मंसिर ५, २०८२ शुक्रबार २२:००:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।