फिल्म नपाएपछि मिनी सिरिजतर्फ मोडियो मलिकाको ध्यान
काठमाडौं : अभिनेत्री मलिका महतको हातमा यति बेला फिल्म छैन। उनी अभिनीत फिल्म ‘सतीदेवी’,‘अगस्त्य’ लगायतले अपेक्षाकृत व्यापार गर्न सकेन। फिल्मबाट अपेक्षित सफलता प्राप्त नभए पनि म्युजिक भिडियोमार्फत भने उनले निरन्तर प्रशंसा बटुल्दै आएकी छन्। फिल्म हातमा नभएपछि अहिले उनी मिनी सिरिजमा अभिनय गर्न थालेकी छन्।
काठमाडौंमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अभिनेत्री महतले आफ्नो हातमा अहिले फिल्म नभएको, तर अफर आइरहेको बताइन्। फिल्मका अफर आइरहेको भए पनि अहिले फुर्सदिलो भएकाले ‘टिन स्पिरिट’को चार श्रृंखलामा अभिनय गरेको उनी बताउँछिन्। ‘टिन स्पिरिट’मा समावेश गीत ‘सम्पूर्ण’ समेत सार्वजनिक गरिएको छ।
सार्वजनिक उक्त गीतमा अपुर्भ तामाङको आवाज र शब्द रहेको छ भने सङ्गीत मनिष गुरुङले गरेका छन्। हिमालय टेलिभिजनबाट प्रसारण हुने भनिएको यो सिरिज ‘जी.टु.वान डिजिटल’को प्रस्तुति र योङ्ग हाट्र्स फिल्म्सको सहकार्यमा निर्माण भएको हो।
सिरिजमा मलिकाका अलावा लक्ष्य तामाङ, अनुशा बायुङ्ग राई, सबी थापा, सुरेश राई, रोनिश सुब्बा, रिनेक्स बस्नेत, मनिका लामा, गीता श्री, संगीता थापा, प्रकाश श्रेष्ठ लगायतको अभिनय रहेको छ।
यसको निर्देशन जीवन स्वार र सुनिल गुरुङले गरेका छन्। यसको निर्माताको रूपमा असीम शाह रहेका छन्। सिरिजको कथा सुनिल गुरुङले लेखेका हुन्। सिरिजका कार्यकारी निर्माता विशाल शर्मा हुन् भने आसिफ शाह क्रीयटिभ डाइरेक्टरको रूपमा रहेका छन्।
मंसिर ५, २०८२ शुक्रबार २१:१५:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।