लगातार दुई खेल हारेपछि पोखराका प्रशिक्षक भन्छन्- ‘अब हाम्रा लागि हरेक खेल नकआउट सरह’

लगातार दुई खेल हारेपछि पोखराका प्रशिक्षक भन्छन्- ‘अब हाम्रा लागि हरेक खेल नकआउट सरह’

काठमाडौं : नेपाल प्रिमियर लिगमा लगातार दुई खेल हारेपछि पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक राजिव कुमारले अबका बाँकी खेलहरू आफ्नो टोलीका लागि ‘नकआउट’ सरह हुने बताएका छन्।

बिहीबार सुदूरपश्चिम रोयल्ससँग १८ रनले पराजित भएपछिको पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

प्रतियोगिता छोटो रहेको र जम्मा ७ खेल मात्र खेल्नुपर्ने भन्दै प्रशिक्षक कुमारले भने, ‘अब ५ खेल बाँकी छन्। प्लेअफमा छनोट हुनका लागि अब हाम्रा लागि प्रतियोगिता नकआउट चरण जस्तै भएको छ। हामीसँग अब गुमाउनका लागि केही छैन। त्यसैले, एकपटकमा एउटा खेल जित्ने लक्ष्यसहित हामी अघि बढ्नेछौँ।’

प्रशिक्षक कुमारले टोली निर्माणमा केही कठिनाइ भएको स्वीकार गरे। उनले गत वर्ष टोलीबाट खेलेका विदेशी खेलाडी रेमन रिफरको भिसा समस्याका कारण उनी आउन नसकेको र अन्तिम समयमा भारतका सुमितलाई ल्याउनुपरेको खुलाए।

उनले भने, ‘दिल्लीमा हामीले राम्रो अभ्यास गरेका थियौँ, तर नतिजा देखिरहेको छैन। कहिलेकाहीँ यस्तो हुन्छ, खेलाडीमा आत्मविश्वासको कमी देखिन्छ। तर एउटा वा दुईवटा जितले सबै कुरा परिवर्तन गर्न सक्छ।’

लगातार हारका बाबजुद टोलीका कप्तान कुशल भुर्तेलको प्रदर्शनको भने प्रशिक्षकले खुलेर प्रशंसा गरे।

गत सिजनको तुलनामा कुशल निकै परिपक्व भएको बताउँदै उनले भने, ‘मेरा लागि कुशल असाधारण खेलाडी हुन्। उनीसँग जुन किसिमको कौशल छ, उनी विश्वको कुनै पनि शीर्ष टोलीमा खेल्न सक्षम छन्। उनको 'वर्क एथिक्स' उत्कृष्ट छ र उनी नेपालका उत्कृष्टमध्ये एक मात्र नभई, अन्तर्राष्ट्रिय स्तरकै ब्याटर हुन्।’

खेलको दौरान एडम रोसिङटनको रनआउटलाई उनले ‘कम्युनिकेसन ग्याप’ भएको बताए। फिल्डर साइटमा भएको र रंगशालामा दर्शकको अत्यधिक हल्लाका कारण सुन्न नसकेको उनको भनाइ थियो।

बलिङतर्फ आफ्ना योजनाहरू काम नलागेको र टोली केही तितरबितर देखिए पनि बलरहरूको गुणस्तरमा शंका नभएको उनले बताए।

मंसिर ५, २०८२ शुक्रबार २०:४६:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।