एनपीएलमा सुदूरपश्चिमको दोस्रो जित, पोखरा १८ रनले पराजित

एनपीएलमा सुदूरपश्चिमको दोस्रो जित, पोखरा १८ रनले पराजित

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को छैटौं खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्समाथि १८ रनको रोमाञ्चक जित हात पारेको छ।

योसँगै जारी एनपीएलमा सुदूरपश्चिमले दोस्रो जित निकालेको छ भने पोखराले लगातार दोस्रो हार व्यहोरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा पोखरा एभेन्जर्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९३ रनको विशाल योगफल खडा गरेको थियो।

सुदूरपश्चिमका लागि ओपनर जोस ब्राउनले उत्कृष्ट सुरुवात दिलाए। उनले मात्र ३५ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ६८ रनको विस्फोटक पारी खेले।

अर्का ओपनर विनोद भण्डारीले ४२ बलमा ४३ रन बनाउँदै ब्राउनलाई राम्रो साथ दिए। यी दुईबीच पहिलो विकेटका लागि १०८ रनको शतकीय साझेदारी भएको थियो।

त्यस्तै, क्रिस लिनले १३ बलमा ३१ रनको छोटो तर आक्रामक योगदान दिए भने कप्तान दीपेन्द्र सिंह ऐरीले १५ रन बनाए।

पोखराका बलर जेम्स निसमले ३ विकेट लिए भने आकाश चन्द र डान डौथवेटले समान २-२ विकेट हात पारे।

१९४ रनको विजय लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले २० ओभरमा ८ विकेट गुमाएर १७५ रन मात्र बनाउन सक्यो।

जिमी निसमको विकेट लिएपछि दीपेन्द्रसिंह ऐरीको सेलिब्रेसन।

पोखराको सुरुवात निकै खराब रह्यो। टोलीले ४.२ ओभरमा २० रन जोड्दा आफ्ना शीर्ष ३ ब्याटर गुमाइसकेको थियो।

खराब सुरुवातका बाबजुद कप्तान कुशल भुर्तेल र जेम्स निसमले टोलीलाई खेलमा फर्काउने प्रयास गरे। भुर्तेलले ३२ बलमा ४ चौका र ४ छक्कासहित ५३ रनको अर्धशतकीय पारी खेले।

जेम्स निसमले २५ बलमा ४७ रन बनाए। अन्तिम ओभरतिर डान डौथवेटले १६ बलमा ५ छक्कासहित ३७ रनको आक्रामक पारी खेले पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्।

सुदूरपश्चिमलाई जिताउन बलर हरमित सिंहले किफायती बलिङ गरे। उनले ४ ओभरमा २२ रन मात्र खर्चेर २ महत्वपूर्ण विकेट लिए।

त्यस्तै, स्कट कुगेलेजिन, दीपेन्द्र सिंह ऐरी, हेमन्त धामी, अविनाश बोहरा र नरेन साउदले १-१ विकेट लिँदै पोखरालाई लक्ष्य भेट्टाउन रोके।

मंसिर ५, २०८२ शुक्रबार २०:२०:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।