फिल्म ‘हर्ष’ किन हेर्ने ? यस्तो छ निर्देशक पौडेलको जवाफ
काठमाडौं : एक समयका चर्चित फिल्म निर्देशक शिव रेग्मीकी भान्जी एकता पौडेल फिल्म निर्देशनमा होमिएकी छन्। अमेरिकामा फिल्म मेकिङ पढेर आएकी पौडेलको निर्देशनमा बनेको फिल्म ‘हर्ष’ यही मंसिर १२ गतेबाट प्रदर्शनमा आउँदैछ। तर प्रदर्शन नजिकिँदै गर्दा पनि ‘हर्ष’को प्रचार-प्रसारमा खासै जोड दिएको देखिँदैन।
फिल्मबारे जानकारी दिन निर्माण पक्षले बिहीबार पत्रकार सम्मेलन गरेको थियो। तर कार्यक्रममा फिल्मको विषयवस्तुभन्दा पनि निर्देशक पौडेलका मामा रेग्मीको ‘विरासत’बारे बढी चर्चा भयो। मामा रेग्मीको प्रसंगमा चर्चा भएपछि पत्रकारले सोधे, 'तपाईंलाई शिव रेग्मीको भाञ्जी भनेर अडियन्स फिल्म हेर्न गैदिउन जस्तो लाग्छ कि एकताको फिल्मको हो भनेर ? जवाफमा उनले भन्छिन्,‘मलाई त दुइटैको भनेर गए पनि मलाई केही फरक छैन। म मामाकै भाञ्जी हो। शिव रेग्मीको भाञ्जी हो भन्दा त म गर्व नै गर्छु।’
फिल्म उद्योगमा स्थापित कलाकार र निर्देशकका आफन्त-सन्तानले फिल्मको प्रमोसनमा आफ्ना नातागोताको नाम प्रयोग गर्ने चलन सामान्य हो। तर, फिल्म चल्ने कुरा पारिवारिक विरासतसँग जोडिनुभन्दा चलचित्रको विषयवस्तु कति बलियो छ भन्ने विषयसँग सम्बन्धित हुन्छ।
त्यस विषयमा निर्देशक पौडेल भन्छिन्, ‘एउटा पारिवारिक मुभी बनाएका छौं। यसमा सबै जनाले मेहनत गरेका छौं। परिवार नै मिलेर फिल्म बनाएका छौं। शिव मामाको जस्तो अन्ड्रिड प्रसेन्ट दिन नसके पनि अलिकति हलबाट निस्किदा चाहिँ दर्शकले मन छुने कथा भन्ने कोसिस गरेको छु।’ फिल्ममा कलाकार वर्षा राउत र खगेन्द्र लामिछानेको मुख्य भूमिका रहेको छ। फिल्म ‘हर्ष’ निर्देशक पौडेलले आफ्नै लगानीमा निर्माण गरेकी छन्।
मंसिर ५, २०८२ शुक्रबार १७:०५:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।