भूकम्पका कारण बंगलादेश र आयरल्याण्डबीचको खेल तीन मिनेटलाई रोकियो
ढाका : बंगलादेश र आयरल्याण्डबीच ढाकामा भइरहेको दोस्रो टेस्ट क्रिकेटको तेस्रो दिन भूकम्पको धक्का महसुस गरिएको छ।
५.५ म्याग्निच्युडको भूकम्पका कारण शनिबार बिहान खेल करिब ३ मिनेटसम्म रोक्नुपरेको थियो। बिहान करिब १०:३८ बजे भूकम्पको कडा धक्का महसुस हुनासाथ रङ्गशालामा त्रास फैलिएको थियो।
खेलाडी र अम्पायरहरू सुरक्षित रहन पिचको बीचमा जम्मा भएका थिए भने दुवै टिमको ड्रेसिङ रुम र मिडिया सेन्टरबाट मानिसहरू हतारिदै बाहिर निस्किएका थिए।
दर्शकहरू पनि सुरक्षित स्थानको खोजीमा यताउता भाग्दा रङ्गशालामा केही बेर भागदौड मच्चिएको थियो।
बङ्गलादेशी सञ्चारमाध्यमका अनुसार भूकम्प ५.५ रेक्टर स्केलको थियो र यसको केन्द्रबिन्दु ढाकाबाट करिब ४० किलोमिटर पूर्वमा रहेको मधाब्दीमा थियो।
भूकम्पबाट ढाकामा दुईवटा भवनमा क्षति पुगेको खबर आए पनि मानवीय क्षतिको कुनै आधिकारिक पुष्टि भएको छैन।
भूकम्पको धक्का भारतको कोलकाता, गुवाहाटी र उत्तरपूर्वी भारतका अन्य क्षेत्रमा पनि महसुस गरिएको थियो। गुवाहाटीमा शनिबारदेखि नै भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टेस्ट म्याच शुरू हुँदैछ।
भूकम्पको त्रासपछि खेल पुनः सञ्चालन भएको छ। बङ्गलादेशले पहिलो इनिङ्समा बनाएको ४७६ रनको जवाफमा आयरल्याण्डले भोजन समयसम्म ७ विकेट गुमाएर २११ रन बनाएको छ।
मंसिर ५, २०८२ शुक्रबार १३:११:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।