उद्यमशील युवालाई नयाँ प्लेटफर्म : नबिल एसएसइका दुई कार्यक्रम देशैभर
काठमाडौँ : सामाजिक मुद्दालाई उद्यमशीलतामार्फत समाधान गर्न चाहने युवा लक्षित गरेर नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्ट्रप्रेनरशिप कार्यक्रम सञ्चालन गरिरहेको छ। विभिन्न समुदायमा देखिने संरचनागत चुनौती, रोजगारी अभाव, सीपको अभाव, कृषि र स्वास्थ्यजस्ता क्षेत्रमा देखिएका समस्या समाधान गरेर नवप्रवर्तकलाई उद्यममा जोड्न यो कार्यक्रम अगाडि बढाएको बैंकले जानकारी दिएको छ।
यस कार्यक्रम अन्तर्गत फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स अन सोसल इन्ट्रप्रेनरशिप चलाइरहेको बैंकका सिइओ मनोज ज्ञवालीले जानकारी दिए। “यी दुवै कार्यक्रम सामाजिक उद्यमशीलता क्षेत्रलाई सुदृढ बनाउँदै दिगो विकास लक्ष्य (SDGs) मा योगदान पुर्याउने दीर्घकालीन रणनीतिअन्तर्गत तयार गरिएको हो” उनले भने।
विचारदेखि लगानीयोग्य उद्यमसम्म
त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायसँग साझेदारीमा सञ्चालित नबिल एसएसइ फेलोसिप कार्यक्रम सामाजिक समस्या समाधान गर्ने सोच भएका उद्यमीलाई प्रत्यक्ष अभ्यास, संरचित मार्गदर्शन र उद्यम विकासका उपकरण उपलब्ध गराउने कार्यक्रम रहेको बैंकले जानकारी दियो।
कृषि, सीप विकास, शिक्षा, स्वास्थ्य, ऊर्जा, कला–संस्कृति तथा समुदाय कल्याणजस्ता विभिन्न क्षेत्रमा प्रभाव पार्न सक्ने विचार बोकेका युवालाई लक्षित यो कार्यक्रम देशभरबाट सहभागी भेला गराएर साझा सिकाइ वातावरण निर्माण गर्ने बैंकले जानकारी दिएको छ।
छ महिनाको कोर्समा सहभागीले हरेक महिना तीन दिन प्रत्यक्ष कक्षा र कूल १८ दिनको आवासीय सत्रमार्फत कार्यानुभूतिमूलक व्यवहारिक सिप सिक्न सक्ने ज्ञवालीले जानकारी दिए।
“प्रत्येक सहभागीलाई एक वर्षका लागि मेन्टोर नियुक्त गरिने भएकाले उनीहरूले उद्यम सुरु गर्ने प्रारम्भिक चरणदेखि संरचनागत विकास, बजार परीक्षण, उत्पादन वा सेवाको मोडेलिङ, जोखिम मूल्याङ्कन र वित्तीय योजना तयार गर्ने जस्ता महत्त्वपूर्ण चरणहरू अनुभवी व्यक्तिको सहायतामा अघि बढाउँछन्,” ज्ञवालीले भने “कार्यक्रमको अन्त्यसम्म सहभागीले बजारमा उतार्न सकिने उत्पादन वा सेवा, वा लगानीकर्तालाई प्रत्यक्ष पिच गर्न मिल्ने व्यवसाय योजना तयार गरिसकेका हुन्छन्।”
फेलोसिपमा सहभागी हुन इच्छुक व्यक्तिले पहिल्यै कुनै सामाजिक समस्या स्पष्ट रूपमा पहिचान गरिसकेको र त्यसको समाधानबारे प्रारम्भिक बुझाइ वा अवधारणा विकास गरिसकेको हुनुपर्ने, आवेदन दर्तापछि रुब्रिकको आधारमा छनोट गरिने र अन्तर्वार्तामार्फत अन्तिम सूची तय गरिने बैंकले जानकारी दियो। सहभागीले कक्षाका लागि आवश्यक यात्रा खर्च आफ्नै तर्फबाट व्यहोर्नुपर्छ, तर आवास र भोजन सुविधा कार्यक्रमले उपलब्ध गराउँछ।
सातै प्रदेशमा पहुँचसहितको सामाजिक उद्यम शिक्षा
फेलोसिप कार्यक्रमभन्दा छोटो प्रकृतिको "सर्टिफिकेट कोर्स अन सोसल इन्ट्रप्रेनरशिप" ले सातै प्रदेशका सात शैक्षिक संस्थासँग सहकार्यमा सञ्चालन गर्दै आएको छ। सामाजिक उद्यमशीलताको आधारभूत अवधारणा बुझ्न चाहने, उद्यम सुरु गर्ने तयारीमा रहेका, वा पहिले नै उद्यम सञ्चालन गरिरहेकाहरूका लागि यो कोर्स प्रभावकारी रहेको बैंकले जानकारी दियो।
तीन महिनाको अवधिमा १४ दिन सञ्चालन हुने यो कोर्सले सहभागीहरूलाई व्यवहारिक अनुभवमा आधारित पक्ष सिकाउन जोड दिने गरेको छ। कार्यक्रमअन्तर्गत सहभागीले विभिन्न क्षेत्रका अनुभवी उद्यमी तथा विषयविज्ञसँग प्रत्यक्ष संवाद गर्ने, विविध पृष्ठभूमिका सहपाठीहरूसँग अन्तरक्रिया गर्दै सिक्ने अवसर पाउने र एक्सपोजर भिजिटमार्फत वास्तविक उद्यम सञ्चालनका चुनौती र सम्भावना बुझ्ने मौका पाउने सिइओ ज्ञवालीले जानकारी दिए।
मंसिर ५, २०८२ शुक्रबार १३:१०:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।