करिश्मा र धीरेन अभिनित फिल्म ‘पहिचान’ रिलिज, दर्शकलाई पत्तै छैन

करिश्मा र धीरेन अभिनित फिल्म ‘पहिचान’ रिलिज, दर्शकलाई पत्तै छैन

काठमाडौं : कुनै समय नेपाली चलचित्र उद्योगमा अभिनेत्री करिश्मा मानन्धरको एकछत्र राज थियो। उनी निर्माता तथा निर्देशकको पहिलो रोजाइमा पर्थिन् भने उनका चलचित्रले बक्स अफिसमा उत्कृष्ट व्यापार गर्थे।

करिश्माको फिल्म हलमा लाग्दा दर्शकको घुइँचो लाग्ने गर्थ्यो। तर, समय बदलिएको छ। आजबाट उनी अभिनित नयाँ चलचित्र ‘पहिचान’ प्रदर्शनमा आएको छ। तर, यो फिल्म हलमा लागेको न दर्शकलाई पत्तै छैन। बिना प्रचारप्रसार फिल्म हलमा लागेको छ।

यस चलचित्रमा करिश्माका साथै एक समयका चर्चित अभिनेता धीरेन शाक्य र खलनायक राजेन्द्र खड्गीको पनि मुख्य भूमिका छ। साथै, ‘इन्डियन आइडल’ विजेता प्रशान्त तामाङले पनि यसमा अभिनय गरेका छन्।

स्टार कलाकारहरू हुँदाहुँदै पनि दर्शकले फिल्म हलमा आएको पत्तो पाएका छैनन्। यसअघि करिश्मा अभिनित फिल्म ‘बगान’ प्रदर्शनमा आएको थियो।

भीम लामा फिल्मस्को प्रस्तुति रहेको ‘पहिचान’लाई भीम लामाले नै लेखेका हुन्। शुक्रबार दिउँसोको अपडेट अनुसार फिल्मले देशभर करिब १५ वटा शो पाएको देखिन्छ। तर, धरानको फ्रेन्ड्स सिनेमाजबाहेक अन्य हलहरू प्रायः खाली देखिएका छन्।

दर्शकको अभावमा यो फिल्मको ‘शो’ लामो समय टिक्ने सम्भावना न्यून देखिन्छ। अघिल्लो साता मात्र अभिनेत्री सुरक्षा पन्त अभिनित फिल्म ‘धागो’ पनि प्रचारप्रसार र दर्शकको अभावमा प्रदर्शन भएको एक दिनमै हलबाट उत्रिनुपरेको थियो।

‘पहिचान’को अवस्था पनि त्यस्तै हुने संकेत देखिएको छ।

मंसिर ५, २०८२ शुक्रबार १२:५३:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।