एमालेको ‘नेसनल भोलेन्टियर फोर्स’ घोषणाको तयारी, माइतीघरमा ‘जेन-जी’ घाइतेहरू

एमालेको ‘नेसनल भोलेन्टियर फोर्स’ घोषणाको तयारी, माइतीघरमा ‘जेन-जी’ घाइतेहरू

काठमाडौं : एमालेले आज ‘नेसनल भोलेन्टियर फोर्स’ (एनभीएफ)को औपचारिक घोषणा गर्ने तयारी गरिरहँदा माइतीघर मण्डलामा ‘जेन-जी’ समूहका घाइतेहरू न्यायको माग गर्दै सडकमा उत्रिएका छन्।

एमालेको जनसंगठन समन्वय संयन्त्रले तीनकुनेबाट निकालेको मार्चपास बबरमहलस्थित कार्की ब्यांक्वेटतर्फ अघि बढिरहँदा माइतीघरमा भने बेग्लै दृश्य देखिएको छ।

आफूहरू न्यायका लागि लडिरहेको भन्दै जेन-जी समूहका घाइतेहरूले मण्डलामा धर्ना दिएका छन्। उनीहरूको उपस्थितिका कारण सम्भावित असहजतालाई ध्यानमा राख्दै प्रहरीले माइकिङ गरेर सबै पक्षलाई संयमित रहन आग्रह गरिरहेको छ।

एमालेले बबरमहलस्थित कार्की ब्यांक्वेटमा अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेसनल भोलेन्टियर फोर्सको औपचारिक घोषणा गर्दैछ। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेताहरूप्रति सुरक्षा खतरा बढेको महसुस गर्दै यो फोर्स गठन गर्न लागिएको बताएका छन्।

महासचिव शंकर पोखरेलले देशलाई सही दिशामा फर्काउन र शान्ति तथा स्थिरताका लागि स्वयम्सेवी फोर्स आवश्यक रहेको जिकिर गरेका छन्।

एमाले नेतृत्वले फोर्स गठनलाई सुरक्षा र स्वयंसेवासँग जोडे पनि पार्टीभित्रै यसको औचित्यमाथि गम्भीर प्रश्न उठेको छ।

बिहीबार बसेको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल तथा सचिवहरू गोकर्ण विष्ट र योगेश भट्टराईले यस्तो संरचनाको आवश्यकता नरहेको बताएका थिए।

नेताहरूले ‘लोकतान्त्रिक विधि र पद्धतिसँग मेल नखाने यस्तो संरचनाले पार्टीलाई फाइदा नपुग्ने बरु अनावश्यक द्वन्द्व र झैझगडालाई प्रश्रय दिने’ भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका थिए।

उपाध्यक्ष विष्णु पौडेलले विपत्तिका बेला स्वयंसेवी संगठन स्वभाविक भए पनि अहिले ‘फोर्स’ को नाममा संरचना आवश्यक नरहेको धारणा राखेका थिए।

शीर्ष नेताहरूकै असन्तुष्टिका बीच एमालेले आज मार्चपाससहित शक्ति प्रदर्शनको शैलीमा नयाँ संगठनको घोषणा गर्न लागेको हो।

मंसिर ५, २०८२ शुक्रबार ११:३९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।