चितवनका बलर रिजन ढकाललाई कारबाही
काठमाडौं : नेपाल प्रिमियर लिगअन्तर्गत हिजो सम्पन्न खेलमा आचारसंहिता उल्लङ्घन गरेपछि चितवन राइनोजका बलर रिजन ढकाल कारबाहीमा परेका छन्।
लुम्बिनी लायन्स विरुद्धको खेलका क्रममा ढकालले लेभल १ को कसुर गरेको पाइएको म्याच रेफ्रीले जनाएका छन्। खेलका दौरान एलबीडब्लूको अपिल गर्दा अम्पायरले ‘नट आउट’ दिएपछि ढकालले अम्पायरको निर्णयप्रति स्पष्ट असन्तुष्टि व्यक्त गरेका थिए।
खेलाडीले आफ्नो गल्ती स्वीकार गरेको र प्रस्तावित प्रतिबन्ध स्वीकार गरेकाले उनलाई औपचारिक चेतावनीदिँदै १ डिमेरिट अङ्क दिइएको एनपीएलका म्याच रेफ्री मोहम्मद सफीकले जानकारी दिएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हिजो भएको एनपीएलको पाँचौं खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको थियो। चितवनले दिएको १४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको थियो। चितवनका लागि रवि बोपाराले सर्वाधिक ६६ रन (५५ बल) को अर्धशतकीय पारी खेले।
यस्तै, कप्तान कुशल मल्लले २१ र सैफ जैबले १५ रन जोडे। लुम्बिनीका बलर रुबेन ट्रम्पेलम्यानले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए भने अविशेष गौतम र गुलबदिन नाइबले २-२ विकेट हात पारे।
जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी लायन्सले गुलबदिन नाइबको विष्फोटक ब्याटिङको मद्दतले ९ बल बाँकी छँदै जित हासिल गर्यो। नाइबले २४ बलमा नटआउट ४४ रन (३ छक्का, ३ चौका) प्रहार गरे। कप्तान रोहित पौडेलले ३९ रन र सन्दीप जोराले २८ रनको योगदान दिए।
कारबाहीमा परेका रिजन ढकालले खेलमा भने उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए। उनले ३ ओभरमा १७ रन खर्चेर लुम्बिनीका सन्दीप जोरा र डार्सी सर्टको दुई महत्त्वपूर्ण विकेट लिएका थिए। खेलको ‘प्लेयर अफ द म्याच’ लुम्बिनीका रुबेन ट्रम्पेलम्यान घोषित भए।
मंसिर ५, २०८२ शुक्रबार ११:०४:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।