कमजोर फिल्डिङ सुधार्ने पोखराको लक्ष्य, टप अर्डरको लय खोज्दै सुदूरपश्चिम

कमजोर फिल्डिङ सुधार्ने पोखराको लक्ष्य, टप अर्डरको लय खोज्दै सुदूरपश्चिम

काठमाडौं : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  अपरान्ह ४ बजे सुरू हुने यो खेल दुवै टोलीका लागि निकै महत्त्वपूर्ण छ।

पहिलो खेलमा ब्याटिङमा विष्फोटक तर बलिङमा खास नदेखिएको पोखरा र ब्याटिङमा सुरुवाती लडखडाए पनि बलिङमा जादुमयी प्रदर्शन गरेको सुदूरपश्चिमबीचको ब्याटल गजबको देखिनेछ।

गत वर्ष सातौं स्थानमा खुम्चिएको पोखरा यसपालि सुरुवातबाटै पछि पर्न चाहँदैन। उता सुदूरपश्चिम लगातार दोस्रो जित निकाल्दै शीर्ष स्थानमा पकड जमाउन चाहन्छ।

आक्रामक सुरूवातलाई ‘फिनिसिङ’मा बदल्ने चुनौतीमा पोखरा
पोखरा एभेञ्जर्सका लागि पहिलो खेल ‘बिर्सनै नसकिने’ र सम्झनलायक दुवै रह्यो। एकातर्फ उनीहरूले एनपीएलकै सर्वाधिक २२० रन खाए भने अर्कोतर्फ पावर प्लेमा सर्वाधिक ७७ रन बनाउने रेकर्ड पनि बनाए।

कप्तान कुशल भुर्तेलको लय पोखराको सबैभन्दा ठूलो अस्त्र हो। पहिलो खेलमा ३१ बलमा ५९ रनसहित ४ छक्का प्रहार गरेका उनले कमेन्ट्री बक्सको सिसा नै फुटाएका थिए। उनलाई एडम रोसिङ्टनले ३९ रन बनाएर राम्रो साथ दिएका थिए।

यसका अलावा गत वर्ष जनकपुरलाई च्याम्पियन बनाएका न्युजिल्यान्डका जिमी निसम यसपटक पोखरामा छन्। पहिलो खेलमा उनी ब्याटिङ र बलिङ दुवैमा असफल भए।

तर, निसम बिग म्याच प्लेयर हुन्। उनी फर्ममा आए ब्याटिङमार्फत एक्लै जिताउन सक्ने क्षमता राख्छन्। आजको खेलमा उनको अलराउन्ड प्रदर्शन पोखराको कमब्याकको आधार बन्न सक्छ।

पोखराको मुख्य समस्या बलिङ र फिल्डिङ हो। पहिलो खेलमा आकाश चन्द र म्याट टेलरले प्रति ओभर १२ को इकोनोमीमा रन खर्चिए।

आज सुदूरपश्चिमको टप अर्डरमा रहेका विनोद भण्डारी, क्रिस लिन र जोस ब्राउनविरुद्ध लाइन र लेन्थ सुधार्न नसके पोखरा फेरि महँगो साबित हुनसक्छ।

साथै, विराटनगरविरुद्ध छोडिएका दुई महत्त्वपूर्ण क्याचले खेलको नतिजा नै बदलिदिएको थियो, जुन गल्ती दोहोर्याउने छुट आज छैन।

सन्तुलित बलिङ र ‘मिडल अर्डर’को भरमा सुदूरपश्चिम
सुदूरपश्चिमले पहिलो खेलमा ४ रनमा ३ विकेट गुमाएको नाजुक स्थितिबाट खेल जित्यो। १४७ रनको सामान्य योगफललाई पनि डिफेन्ड गरेर काठमाडौंलाई ११८ मा अलआउट गर्नुले सुदूरपश्चिमको बलिङ युनिटको शक्ति दर्साउँछ।

न्युजिल्यान्डका स्कट कुगेलेइन र हेमन्त धामीको पेश तथा हरमित सिंह र कप्तान दीपेन्द्रसिंह ऐरीको स्पिन आक्रमण निकै कसिलो छ। आज पोखराको विष्फोटक ओपनिङलाई रोक्न यो बलिङ आक्रमणको भूमिका निर्णायक हुनेछ।

सुदूरपश्चिमको जितका बाबजुद ठूलो कमजोरी ‘टप अर्डर’ हो। अस्ट्रेलियन बिग हिटर क्रिस लिन, जोस ब्राउन र अनुभवी विनोद भण्डारी पहिलो खेलमा पूर्णतः असफल भए।

यद्यपि उनीहरू फर्ममा आए भने खेललाई सहजै आफ्नो पक्षमा पार्न सक्ने क्षमता राख्छन्। आजको खेल सहज तरिकाले जित्ने हो भने सुदूरपश्चिमका लागि टप अर्डर चल्नु आवश्यक छ।

दीपेन्द्रसिंह ऐरीले पहिलो खेलमा ३९ रन बनाउँदै इनिङ सम्हालेका थिए। उनको नेतृत्व र विशेषगरी रन आउट र क्याच सुदूरपश्चिमको एक्स फ्याक्टर हो।

ब्याटलमा को-को?
आजको खेलमा पोखराका कप्तान कुशल भुर्तेलविरुद्ध सुदूरपश्चिमका स्कट कुगेलेइन स्विंग बलिङबिचको ब्याटल हेर्न लायक हुनेछ। यदि कुगेलेइनले भुर्तेललाई चाँडै पेभिलियन फर्काए भने पोखरा दबाबमा आउन सक्छ।

त्यसैगरी पोखराका जिमी निसमविरुद्ध सुदूरका हरमित सिंह घातक बन्न सक्छन्। स्पिनविरुद्ध पोखराको मध्यक्रम पहिलो खेलमा धराशायी भएको थियो। आज सुदूरपश्चिमका हरमित सिंहले त्यही कमजोरीको फाइदा उठाउन सक्छन्। निसमले स्पिनलाई कसरी खेल्छन्, त्यसले खेलको दिशा तय गर्नेछ।

यसका अलावा सुदूरपश्चिम रोयल्सको फ्यानबेस एनपीएलकै सबैभन्दा लोभलाग्दो छ। आजको टिकट ‘सोल्डआउट’ भइसकेको अवस्थामा कीर्तिपुर मैदान सुदूरपश्चिममय हुने निश्चित छ। यो ठूलो समर्थनले सुदूरपश्चिमका खेलाडीलाई हौसला दिनेछ भने पोखराका खेलाडीमाथि अतिरिक्त मानसिक दबाब सिर्जना गर्नसक्ने देखिन्छ।

कागजमा हेर्दा, पोखरा एभेञ्जर्सको ब्याटिङमा बलियो देखिन्छ भने सुदूरपश्चिम रोयल्सको बलिङ पक्ष मजबुत छ।

आजको खेलमा यदि पोखराले फिल्डिङ सुधारेर सुदूरपश्चिमको अस्थिर टप अर्डरलाई ध्वस्त बनाउन सक्यो भने पहिलो जित सम्भव छ। तर, सुदूरपश्चिमको बलिङ आक्रमण र विशाल दर्शक समर्थनलाई चिर्न भुर्तेलको टोलीले विशेष प्रदर्शन गर्नुपर्ने हुन्छ।

मंसिर ५, २०८२ शुक्रबार १०:०९:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।