सिमरामा जारी तनाव नियन्त्रणबाहिर जान नदिन संयमता अपनाऔं : प्रचण्ड

सिमरामा जारी तनाव नियन्त्रणबाहिर जान नदिन संयमता अपनाऔं : प्रचण्ड

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा हिजोदेखि जारी तनाव र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत आज उनले स्थितिलाई थप हिंसात्मक तथा नियन्त्रणबाहिर जान नदिन सबै पक्षलाई उच्च संयमता अपनाउन आग्रह गरेका छन्।

राजनीतिक तथा वैचारिक मतभिन्नता लोकतन्त्रमा स्वभाविक भए पनि त्यसलाई हिंसा वा उत्तेजनामा रूपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति नभएको उनको भनाइ छ। राजनीतिक दल र नेताहरूलाई निर्वाध रूपमा हिँडडुल र सभा-सम्मेलन गर्ने वातावरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए।

उनले लेखेका छन्, 'लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता स्वाभाविक हुन्छ तर त्यसलाई हिंसा वा उत्तेजनामा रूपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति होइन। त्यसैले राजनीतिक तथा वाक-स्वतन्त्रताको सम्मान गर्दै राजनीतिक दल र दलका नेताहरूलाई निर्वाधरूपमा हिड्डुल गर्ने, सभा-सम्मेलन गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउँदछु।' 

प्रचण्डले घोषित निर्वाचनलाई प्रभावित हुन नदिन सबै पक्ष जिम्मेवार र सचेत बन्नुपर्ने आवश्यकता औँल्याए। उनले भनेका छन्, 'घोषित निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन कुनै पनि घटनाले नकारात्मक प्रभाव नपारोस् भन्ने विषयमा समेत सचेत र जिम्मेवार बन्न सबै पक्षसँग आग्रह गर्दछु।' उनले उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय पार्टी समितिहरूलाई आवश्यक सहजीकरणको भूमिका निर्वाह गर्न निर्देशन दिए। 

एमाले निकट युवा संघको कार्यक्रममा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल लगायतका नेताहरू जाने भएपछि जेनजी युवाहरूले बुधबार विमानस्थल क्षेत्रमा प्रदर्शन गरेका थिए। सोहीक्रममा पोखरेलाई स्वागत गर्न विमानस्थल पुगेका एमाले कार्यकर्ताहरूले जेनजी युवामाथि हातपात गरेका थिए। सोही विषयलाई लिएर आज सिमरामा क्षेत्र अशान्त बनेको छ। हिंसा भड्किँदै गएपछि हिजोदेखि नै त्यहाँ कर्फ्यु लगाइएको छ। 

मंसिर ४, २०८२ बिहीबार १७:०१:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।