पाँचखालमा बसको ठक्करबाट वृद्धको मृत्यु, आक्रोशित स्थानीयद्वारा अरनिको राजमार्ग अवरुद्ध
काभ्रे : अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखालमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्युपछि आक्रोशित आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन्।
पाँचखाल नगरपालिका-४ स्थित सडक छेउमा हिँडिरहेका स्थानीय ६५ वर्षीय दिलबहादुर श्रेष्ठलाई मंगलबार बिहान बसले ठक्कर दिएको थियो। गम्भीर घाइते भएका श्रेष्ठको धुलिखेल अस्पतालमा उपचारका क्रममा दिउँसो १२ बजे मृत्यु भएको हो।
प्रहरीका अनुसार सिन्धुपाल्चोकको चौताराबाट काठमाडौंतर्फ आउँदै गरेको अरनिको यातायातको बा २ ख ६५७९ नम्बरको बसले श्रेष्ठलाई ठक्कर दिएको थियो।
प्रत्यक्षदर्शीका अनुसार सोही दिशाबाट आउँदै गरेको अर्को बससँग प्रतिस्पर्धा (कम्पिटिसन) गर्दै तीव्र गतिमा आएको उक्त बसले सडक छेउमा हिँडिरहेका श्रेष्ठलाई ठक्कर दिँदा उनी करिब १० मिटर पर उछिट्टिएका थिए।
उपचारका क्रममा श्रेष्ठको मृत्यु भएपछि उनका आफन्तले दोषी चालकलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै अरनिको राजमार्ग अवरुद्ध पारेका छन्। जसका कारण सवारी आवागमन ठप्प भएको छ।
दुर्घटनालगत्तै चालक फरार रहेकाले उनको खोजी भइरहेको र ठक्कर दिने बसलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरीले जनाएको छ।
यस्तै, पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलले पीडित पक्षलाई क्षतिपूर्ति दिलाउन पहल भइरहेको र अवरुद्ध राजमार्ग खुलाउने प्रयास जारी रहेको जानकारी दिए।
मंसिर ४, २०८२ बिहीबार १४:१७:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।