सिमरा घटनापछि शान्ति सुरक्षा मजबुत बनाउन सरकारलाई मानव अधिकार आयोगको निर्देशन

सिमरा घटनापछि शान्ति सुरक्षा मजबुत बनाउन सरकारलाई मानव अधिकार आयोगको निर्देशन

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले बाराको सिमरामा एमालेका कार्यकर्ता र ‘जेन-जी’समूहबीच भएको झडप र त्यसपश्चात् उत्पन्न तनावपूर्ण परिस्थितिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मंसिर ३ गते भएको उक्त घटनाको सुक्ष्म अनुगमन गरिरहेको बताएको छ। आयोगका अनुसार एमालेको भातृ संगठन राष्ट्रिय युवासंघ नेपालको मधेश प्रदेशस्तरीय कार्यक्रम र स्थानीय ‘जेन-जी’ समूहको विरोध प्रदर्शन एकै समयमा जुध्न जाँदा झडपको स्थिति सिर्जना भएको थियो।

आयोगको विज्ञप्ति अनुसार, एमालेका केन्द्रीय नेताहरू आउने समय र स्थानीय जेन्जी समूहले भदौ २३ र २४ गतेका मृतक तथा घाइतेहरूले न्याय नपाएको भन्दै सरकारलाई सचेत गराउन आयोजना गरेको प्रदर्शनको समय जुधेको थियो। सिमरा चोकमा जम्मा भएका जेन-जी युवाहरू र एमाले कार्यकर्ताबीच विवाद हुँदा ५ जना युवा घाइते भएका छन्।

तनाव बढ्दै जाँदा आक्रोशित भीडले सिमरा विमानस्थलको गेटमा क्षति पुर्याएको र उडानहरू समेत प्रभावित भएको आयोगले उल्लेख गरेको छ। उडान प्रभावित हुँदा एमालेका नेताहरू सिमरा जान सकेका थिएनन् भने स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गर्नु परेको थियो।

सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरिसकेको सन्दर्भमा यस्ता हिंसात्मक घटना हुनु दुःखद भएको आयोगले जनाएको छ। यस्ता गतिविधिले संविधानको धारा १७ मा उल्लेखित स्वतन्त्रताको हक हनन हुनुका साथै निर्वाचनको सहज वातावरण बन्न नसक्ने र शान्ति सुरक्षामा गम्भीर असर पर्ने तर्फ आयोगले सचेत गराएको छ।

आयोगले शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन नेपाल सरकारलाई निर्देशन दिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘घटनाको छानबिन गर्न एवम् घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ।’

साथै, आयोगले सबै पक्षलाई विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न तथा संयमता अपनाएर स्थितिलाई सामान्यीकरण गर्न आग्रह गरेको छ। घाइते युवाहरूले आक्रमणकारी विरुद्ध प्रहरीमा जाहेरी दिएको र उनीहरूको उपचार भइरहेको जानकारी समेत आयोगले प्राप्त गरेको जनाएको छ।

मंसिर ४, २०८२ बिहीबार १३:३६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।