ट्रम्पको डिनर पार्टीमा रोनाल्डो : अमेरिकी राष्ट्रपतिलाई दिए धन्यवाद, एलन मस्कसँगको सेल्फी भाइरल

ट्रम्पको डिनर पार्टीमा रोनाल्डो : अमेरिकी राष्ट्रपतिलाई दिए धन्यवाद, एलन मस्कसँगको सेल्फी भाइरल

वासिङ्टन : फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सामाजिक सञ्जालमार्फत धन्यवाद दिएका छन्।

राष्ट्रपति ट्रम्पले साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानको सम्मानमा आयोजना गरेको ‘स्टेट डिनर’मा रोनाल्डो पनि सहभागी भएका थिए।

यस विषयमा लेख्दै रोनाल्डोले राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानियाले आफू र आफ्नी मंगेतर जोर्जिनालाई निकै राम्रो स्वागत गरेको बताएका छन्।

उनले भनेका छन्, ‘हरेक व्यक्तिसँग विश्वलाई दिनका लागि केही न केही विशेष कुरा हुन्छ। म पनि नयाँ पुस्तालाई प्रेरित गर्न तयार छु ताकि भविष्य शान्ति र साहसले भरिपूर्ण होस्।’

डिनर कार्यक्रममा राष्ट्रपति ट्रम्पले रोनाल्डोको खुलेर तारिफ गरे। ट्रम्पले आफ्नो छोरा ब्यारन रोनाल्डोको एकदमै ठूलो फ्यान भएको बताए।

ठट्टा गर्दै ट्रम्पले भने, ‘अब ब्यारन मसँग अलि बढी खुसी हुनेछ, किनभने मैले उसलाई रोनाल्डोसँग भेटाएको छु।’

रोनाल्डोलाई कार्यक्रममा विशेष सिट दिइएको थियो, जहाँबाट उनले राष्ट्रपति र साउदी राजकुमारको भाषण सुनेका थिए।

यस भव्य रात्रिभोजमा विश्वका धेरै चर्चित व्यक्तिहरू उपस्थित थिए, जसमा अर्बपति एलन मस्क पनि एक थिए। कार्यक्रमपछि डेभिड स्याक्सले सामाजिक सञ्जालमा एउटा सेल्फी सेयर गरे, जुन अहिले तीव्र रूपमा भाइरल भइरहेको छ।

उक्त तस्बिरमा रोनाल्डो, एलन मस्क, फिफा अध्यक्ष जियानी इन्फान्टिनो र ओपनएआईका ग्रेग ब्रोकम्यान एकसाथ देखिएका छन्।

मंसिर ४, २०८२ बिहीबार १२:२३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।