काठमाडौंको हारमा सन्नी पटेलको डेब्यु : खेलभन्दा ‘उषा’को जर्सीको चर्चा!
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार सम्पन्न खेल नतिजाका हिसाबले काठमाडौं गोर्खाजका लागि सु:खद् रहेन। तर, यो खेल काठमाडौंका खेलाडी सन्नी पटेलको ‘अनौठो जर्सी’ का कारण निकै चर्चामा रह्यो।
काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीचको यो खेलमा भारतीय मुलका अमेरिकी क्रिकेटर सन्नी पटेलले एनपीएलमा डेब्यु गरेका थिए।
पहिलो खेलमा ‘बेन्च’ मा बसेका पटेललाई कप्तान करण केसी र मुख्य प्रशिक्षक मोन्टी देसाईले बुधबारको खेलमा मौका दिएका थिए। तर, मैदानमा उत्रँदा उनले आफ्नै नामको सट्टा ‘उषा’ नाम लेखिएको जर्सी लगाएका थिए।
खेलको प्रत्यक्ष प्रसारण हेरिरहेका दर्शक र मैदानमा उपस्थित समर्थकहरू सन्नी पटेलको पछाडि लेखिएको ‘उषा’ नाम देखेर अलमलमा परे। सामान्यतया खेलाडीहरूले आफ्नै थर वा नाम लेखिएको जर्सी लगाउने गरिन्छ।
डेब्यु खेलमै अर्कै नामको जर्सी लगाएर आएपछि उनको प्रदर्शनभन्दा पनि जर्सीको विषयले बढी चर्चा पायो। यद्यपि, उनले यो जर्सी किन लगाए भन्ने आधिकारिक कारण भने खुलिसकेको छैन।
जर्सीको चर्चालाई छाड्ने हो भने पटेलको प्रदर्शन टिमका लागि सन्तोषजनक रह्यो। टस जितेर पहिला बलिङ रोजेको काठमाडौंका लागि उनले कसिलो बलिङ गरे।
आफ्नो ४ ओभरको स्पेलमा पटेलले २७ रन मात्र खर्चिएर महत्त्वपूर्ण २ विकेट हात पारे। उनले सुदूरपश्चिमका लागि अर्धशतक बनाएर आक्रामक खेलिरहेका हरमीत सिंह (५३ रन) र स्कट कुगेलेइन (१ रन) लाई आउट गराएका थिए।
बलिङमा मात्र होइन, ब्याटिङमा पनि उनले अन्तिम समयमा केही प्रयास गरे। सातौं नम्बरमा ब्याटिङ गर्न आएका उनले ७ बलमा १ चौकासहित १० रन बनाए । तर, उनको यो प्रयास टोलीलाई जिताउन पर्याप्त भएन।
बुधबारको खेलमा दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई २९ रनले पराजित गरेको छ।
सुरुवातमा ब्याटिङ गरेको सुदूरपश्चिमले खराब सुरुवातका बाबजुद २० ओभरमा १४७ रनको योगफल तयार पार्यो।
सुदूरपश्चिमका लागि हरमीत सिंहले बिस्फोटक ब्याटिङ गर्दै २० बलमा ५३ रन बनाए भने कप्तान दीपेन्द्र सिंह ऐरीले ३९ रनको योगदान दिए। काठमाडौंका कप्तान करण केसीले ४ विकेट लिए।
१४८ रनको लक्ष्य पछ्याएको काठमाडौं गोर्खाजको ब्याटिङ लाइनअप भने ध्वस्त भयो। काठमाडौं १६.५ ओभरमा ११८ रनमै अलआउट भयो। काठमाडौंका लागि आकाश त्रिपाठीले ३४ र जोन सिम्पसनले २४ रन बनाउनु बाहेक अन्य ब्याटर चल्न सकेनन्।
सुदूरपश्चिमका बलरहरू हाबी भएको खेलमा स्कट कुगेलेइन, हेमन्त धामी, हरमीत सिंह लगायतले कसिलो बलिङ गरेपछि सन्नी पटेलको डेब्यु खेल हारमा टुंगियो।
मंसिर ४, २०८२ बिहीबार १०:५६:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।