आयोजकको माइक तानेर प्रियंकाले भनिन् : ‘म यो शो गर्न सक्दिनँ’

आयोजकको माइक तानेर प्रियंकाले भनिन् : ‘म यो शो गर्न सक्दिनँ’

काठमाडौं : नेपाली कला क्षेत्रमा चर्चामा रहिरहने अभिनेत्री हुन्, प्रियंका कार्की। प्रायः बोलीका कारण चर्चामा छाउने उनी यतिबेला केही फरक कारणले चर्चामा छिन्। मंगलबार ‘स्टुडेन्ट अफ द इयर’ रियालिटी शोको पत्रकार सम्मेलन चलिरहेको थियो। सोहीक्रममा आयोजकले भोटिङ सिस्टमको विषय उठाएपछि अभिनेत्री कार्कीले तत्कालै आफू शोमा सहभागी नहुने बताउँदै उठेर हिँडिन्। एक्कासि अभिनेत्री कार्कीले पत्रकार सम्मेलन चलिरहेकै बेला शोमा नबस्ने भनेर हिँडेपछि आयोजक अलमलमा परे।

उनले पैसाको चलखेल हुने कार्यक्रममा आइन्दा सहभागी नहुने स्पष्ट पारिन्। आयोजकको हातबाट माइक तानेर प्रियंकाले भनिन्, ‘आइएम सो सरी ! म शुभकामना दिन चाहन्छु। यदि शोमा भोटिङ छ भने, म यो शो गर्न सक्दिनँ। मेरो मन मर्या छ के दुई तीन वटा शोमा। यस्तो ट्यालेन्टेड मान्छेहरू, जहाँ पुग्नुपर्ने पुगेन किनभने पैसा छैन।’ केही रियालिटी शोमा जज रहिसकेकी अभिनेत्रीबाट यसरी रियालिटी शोमा हुने भोटिङसँग जोडिएको चलखेलको विषय औपचारिकरूपमा सतहमा आयो।

प्रियंका पछिल्लो समय टेलिभिजन रियालिटी शो ‘रोडिज’मा जजका रूपमा रहेकी छन्। उनले त्यो शो भोटिङका आधारमा छनोट गर्नु नपर्ने भएका कारण आफू सहभागी भएको स्पष्ट पारिन्।

नेपालमा भइरहेका केहीमा रियालिटी शो भोटिङका आधारमा राम्रा प्रतियोगी बाहिरिन परेको आरोप बेलाबेलामा उठ्दै आएको छ। रियालिटी शोको भोटिङ सिस्टमका बारेमा गायक तथा जज डेभिड शंकरले पनि आपत्ति जनाएका थिए। गत साउनमा गायक शंकरले ‘जुनियर सिङगिङ स्टार’ आफूले काम गरिरहेको रियालिटी शोले बालबालिकालाई ठगेको आरोप लगाएका थिए। उनले राम्रो प्रतियोगीहरू रियालिटी शोमा भोटिङका गर्दा राम्रो प्रतियोगी बाहिरिने र पैसावाल अगाडि आउने गरेको बताए।
 
उनले उकेरासँगको कुराकानीमा भनेका थिए,‘मैले ‘ठगियो’ भन्दा पनि त्यहाँ भएका केही त्रुटिहरू औँल्याउन खोजेको हुँ। म आफैँ प्रतियोगी भएर आएको र निर्णायक पनि बनेको हिसाबले संगीतकर्मीको धर्म निर्वाह गर्दै गलत कुरालाई गलत भन्नुपर्छ भन्ने लाग्यो। मान्छेबाट गल्ती हुन्छ, तर त्यो गल्तीलाई ढाकछोप गर्नु झन् ठूलो गल्ती हो। मैले देखेका त्यस्तै कमजोरीहरू सच्याउनुपर्छ भनेर आवाज उठाएको हुँ।’
 

मंसिर ३, २०८२ बुधबार २२:३१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।