एन्फा विरुद्ध आन्दोलनमा उत्रँदै एक डिभिजनका क्लब, समयमै लिग गर्न माग

एन्फा विरुद्ध आन्दोलनमा उत्रँदै एक डिभिजनका क्लब, समयमै लिग गर्न माग

काठमाडौं : एन्फाले लिग सञ्चालन नगरेपछि सहिद स्मारक ए डिभिजन लिगमा सहभागी क्लबहरू आन्दोलनमा उत्रने भएका छन्। एन्फा पदाधिकारीहरूले डिभिजन लिग फुटबललाई बेवास्ता गरेको भन्दै उनीहरूले आन्दोलनमा उत्रने तयारी गरेका हुन्।  एन्फाले ३ वर्षदेखि ए डिभिजन लिग फुटबलको आयोजना नै गर्न सकेको छैन।

डिभिजन लिगलाई स्वतन्त्र र व्यवस्थित बनाउनुपर्ने लगायतका मागहरू अगाडि सार्दै उनीहरूले बिहीबार प्रदर्शन गर्ने जानकारी दिएका छन्। लिगका सबै प्रतियोगिता समयमै गर्नुपर्ने, क्लबसँगको सम्झौता कार्यान्वयन गर्नुपर्ने, अन्तर्राष्ट्रिय मापदण्ड अनुसार लिग प्रतियोगिता सञ्चालन गर्नुपर्ने माग गर्दै क्लबहरू आन्दोलनमा उत्रन लागेका हुन्।

एन्फाले पनि लिगबारे छलफल गर्न भन्दै बिहीबारै क्लबहरूलाई बैठकमा बोलाएको छ। तर एन्फाले यसअघि क्लबहरूसँग राष्ट्रिय लिग गर्ने सहमति गरे पनि लिगको आयोजना गर्न सकेको छैन। यस अगाडि लिगको माग गर्दै खेलाडीहरूले समेत आन्दोलन गरेका थिए। खेलाडीहरू आन्दोलित भएपछि एन्फाले क्लबसँग छलफल गरेर डिभिजन फुटबल अघि बढाउने  दाबी गरेको थियो।

मंसिर ३, २०८२ बुधबार २१:३०:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।