विजेता टोली जनकपुर हराएको काठमान्डु सुदूरपश्चिमसँग हार्यो
काठमाडौं : एनपिएल-२ को पहिलो खेलमा विजयी सुरुवात गरेको काठमान्डु गुर्खाजले दोस्रो खेल गुमायो। एनपिएलको साबिक विजेता जनकपुर बोल्ट्सलाई हराएर विजयी सुरुवात गरेको उसले बुधवार सुदूरपश्चिम रोयल्ससँग पराजित भयो। बुधवार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमान्डु गोर्खाजलाई सुदूरपश्चिमले २९ रनले जित्यो।
सुदूरपश्चिमले ब्याटिङ गर्दै काठमान्डुलाई जितका लागि १ सय ४८ रनको लक्ष्य दिएको थियो। तुलनात्मक रूपमा यो मध्यम लक्ष्य हो। तर पुरा ओभर पनि खेल्न नसकी काठमान्डु १६.५ ओभरमा १ सय १८ रन बनाएर अल आउट भयो। काठमान्डुका लागि आकाश त्रिपाठीले सर्वाधिक ३४ बनाए। जोहन सिम्पसनले २४, भीम सार्कीले १२ मिलिन्द कुमारले ११ र सन्नी पटेलले १० रन बनाएका थिए।
सुदूरपश्चिमका लागि स्कट कुगेलेइन, हेमन्त धामी हरमित सिंहले दुई/दुई तथा ईशान पाण्डे, नरेन साउद र अभिनाश बोहराले एक/ एक विकेट लिएका थिए। सुदूरपश्चिमले टस हारेर ब्याटिङको निम्ता पाएको थियो। उसले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो।
सुदूरपश्चिमका लागि हरमित सिंहले २० बलमा ६ छक्का र एक चौका हानेर सर्वाधिक ५३ रन बनाएका थिए। कप्तान दीपेन्द्रसिंह ऐरीले ३९, आरिफ शेखले २५ र ईशान पाण्डेल ११ रन बनाएका थिए। काठमान्डुका लागि कप्तान करण केसीले चार, सन्नी पटेल, मिलिन्द कुमार र राशिद खानले दुई/दुई विकेट लिएका थिए।
तेस्रो दिनसम्म आइपुग्दा एनपिएलमा चीतवन र बिराटनगरले समेत जित निकालिसकेका छन्। जनकपुरसँगै कर्णाली याक्स र पोखरा एभेन्जर्सले आफ्नो पहिलो खेल गुमाएका छन्।
मंसिर ३, २०८२ बुधबार २०:५८:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।