एनपिएलमा म्याच फिक्स गर्ने गिरोह काठमाडौँमा, खेलाडीसँग होटलमा बैठक, रन आउटको करोड अफर
काठमाडौं : नेपाल प्रिमियर लिगमा सहभागी क्रिकेट खेलाडीलाई मेसेज पठाउँदै स्पन्सर गरिदिने प्रलोभन देखाएर सट्टेबाजीको प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक भारतीय छन्।
प्रहरीले हरियाणा रानिमहाल पानीपतका २८ वर्षीय दिलप्रित सिंह र बर्दिया घर भई भारत चण्डिगढ बस्ने २४ बर्सिया रेविका सिंह ठकुरीलाई बुधवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
प्रहरीका अनुसार खेलको नतिजा आफू अनुकूल बनाउन उनीहरूले ‘खेलाडीलाई स्पन्सर गर्छौँ’ भन्दै ह्वाट्स एप, इन्स्टाग्रामबाट सन्देश पठाएका थिए। उनीहरुले आफूले भने अनुसार रन आउट भएमा एक करोडसम्म दिने प्रस्ताव गरेका थिए।
उनीहरुले एनपिएलमा सहभागी विभिन्न समूहका खेलाडीहरुलाई ह्वाट्सएपबाट मेसेज पठाउँदै आफूहरुले खेलाडीहरुलाई स्पन्सर गर्ने गरेको र आफूहरुले भने अनुसार गरे एक करोडसम्म दिने प्रस्ताव गरेको सूचनाको आधारमा प्रहरीले खोजी गरेको थियो।
खोजीमा खटिएको प्रहरी टोलीले उनीहरूलाई लाजिम्पाटबाट पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको छ। एनपिएल शुरु भए लगत्तै जुवा खेलाउने अनि म्याच फिक्सिङ गराउने समूह सक्रिय हुने गरेका छन्। गत वर्ष पनि अनलाइन जुवा खेलाउनेहरु पक्राउ परेका थिए। बुधवार त म्याच फिक्स गराउनेहरु नै भेटिए।
होटलमा खेलाडीसँग गोप्य मिटिङ
अनुसन्धान अधिकारीका अनुसार बुधवार पक्राउ परेकामध्ये एक नेपाली युवती भारतमा बस्दै आएकी छिन्। उनले भारतबाटै एनपिएलमा छानिएका खेलाडीहरुसँग इन्टाग्राम र पछि ह्वाट्सएपमा सम्पर्क गरेकी थिइन्। खेलाडीहरु छलफल गर्न राजी भएपछि उनी भारतीय युवक लिएर नेपाल आएकी थिइन्।
नेपाल आएपछि ती युवतीले क्रिकेट खेलाडीहरुलाई आफूले खेलाडीहरुलाई स्पन्सर गर्ने गरेको भन्दै आर्थिक प्रलोभन दिन थालेकी थिइन्। उनले सात खेलाडीलाई सन्देश पठाएको खुलेको छ। सातमध्ये केही खेलाडीहरुले उत्तर पनि दिएका थिए।
ती खेलाडीहरुमध्ये एक खेलाडीले ती युवतीसँग एनपिएलका लागि आफू बसेको होटलमै बोलाएर भेटेको समेत प्रहरीको अनुसन्धानमा खुलेको छ। प्रहरीले ती खेलाडीको नाम भने सार्वजनिक गरेको छैन। अनुसन्धानमा युवतीले ती खेलाडीलाई आफ्नो होटलमा बोलाएको तर खेलाडीले होटलबाट निस्कन नमिल्ने भन्दै आफू बसेकै होटलमा बोलाएका थिए।
होटलमा ती युवती भारतीय युवकसहित पुगेका थिए। छलफलकोक्रममा उनीहरुले एनपिएलको खेलाडीलाई आफूले भने अनुसारको म्याचमा रन आउट भएमा एक करोडसम्म दिनसक्ने अफर गरेका थिए। यो सूचना प्रहरीमा पुगेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान शुरु गरेको थियो।
प्रारम्भिक अनुसन्धानमा दिलप्रित म्याचफिक्सिङसँगै अनलाइन जुवामा सक्रिय रहेको खुलेको छ। उनले नेपालको एनपिएलका खेलमा म्याच फिक्स गराएर अनलाइन जुवाबाट पैसा कमाउने रणनीति अनुसार भारतमा बस्ने नेपाली युवतीको प्रयोग गरेर खेलाडीहरुसँग सम्पर्क गराएका थिए।
क्यान जुवा प्रवर्धनमा, प्रहरी अनुसन्धानमा
लिगमा अनलाइन जुवाको प्रभाव देखिन शुरु भइसकेको छ। तर यता प्रतियोगितामा अनलाइन जुवाको प्रभाव प्रत्यक्ष देखिएको छ। तर एनिपएलको मैदानमा भने क्यानले अनलाइन जुवा र सट्टा गराउने डाफाबेटको सरोगेट कम्पनी डाफान्युजको विज्ञापन राखेर अनलाइन जुवा र सट्टाको प्रवर्धन र प्रचार गरिरहेको छ। यसबारे विज्ञापन बोर्डले क्यानलाई स्पष्टीकरण सोधेको छ।
उता प्रहरीले भने लिगमा आधारित अनलाइन जुवा र म्याचफिक्सिङ लगायतका अपराध रोक्न विशेष टोली परिचालन गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र उपत्यका अपराध अनुसन्धान कार्यालयमा म्याचफिक्सिङ हुन नदिन खटिएका छन्।
म्याचफिक्सिङ रोक्न प्रहरीले हरेक टिममा लियाजन अफिसर्सको रुपमा प्रहरी खटाएको छ। खेलाडी चढ्ने बसदेखि उनीहरु बसेको होटलसम्म प्रहरीको निगरानीमा छ। तै पनि फिक्सरहरुले कुनै न कुनै बहानामा खेलाडी भेट्ने गरेको बुधवारको घटनाले पुष्टी गरेको छ।
मंसिर ३, २०८२ बुधबार १८:११:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।