सिमरा घटनापछि ओलीको प्रश्न : सभा गर्न नदिनेले चुनाव कसरी गर्छ ?

सिमरा घटनापछि ओलीको प्रश्न : सभा गर्न नदिनेले चुनाव कसरी गर्छ ?

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले सिमरा जाने क्रममा पार्टी नेताहरूले भोग्नुपरेको अवरोधप्रति असन्तोष व्यक्त गरेका छन्। सिमरा घटनालाई लिएर उनले सरकारमाथि कस्तो चुनाव गराउन खोजेको भनेर प्रश्न गरे।

राजनीतिक दलका नियमित गतिविधि रोकेर निर्वाचनको वातावरण बन्न नसक्ने उनको भनाइ छ। ‘बारामा हाम्रो युवा भेला थियो। सिमरा एयरपोर्ट बन्द भयो। हाम्रा नेताहरू जान पाउनुभएन। जानबाट रोकियो,' ओलीले भने, 'एयरपोर्टमै तोडफोड गर्न दिइयो। ५०-६० जना मान्छे आएर ढुंगामुढा गरेर एयरपोर्ट नै बन्द गराइदिने ? के हो यस्तो ? जेनजी भन्यो एयरपोर्ट बन्द। अर्काले सभा गर्न नपाउने, सभा बन्द। अनि भन्छ चुनाव गर्ने, सभा गर्न नदिनेले चुनाव कसरी गर्छ।’

विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा तोडफोड र अवरोध गर्दा पनि सरकार र प्रशासन मूकदर्शक बनेको उनको आरोप छ। सभा गर्न नदिने सरकारले चुनाव गर्छ भनेर पत्याउन नसकिने उनको भनाइ थियो। ओलीले भने, ‘प्रचारमा जान नपाइने, सभामा जान नपाइने, भेलामा जान नपाइने पनि हुन्छ ? म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु कस्तो चुनाव गराउँदै हुनुहुन्छ ? सभा गर्न खोज्यो गुण्डा लगाउनुहुन्छ। मान्छे कतै सहभागी हुन जान लाग्यो एयरपोर्ट बन्द हुन्छ, कस्तो चुनाव गराउनुहुन्छ ?’

राजनीतिक दलले शान्तिपूर्ण तवरले आफ्ना गतिविधि गर्न पाउने उल्लेख गर्दै उनले कहीँबाट एमाले नभाग्ने बताए। ओलीले भने, ‘हाम्रो पार्टीका सबै कमिटीलाई भन्न चाहन्छु, सबैले मनमा लिनुस्, यो देश हाम्रो पनि हो । यो देशमा शान्तिपूर्ण तवरले आफ्नो गतिविधि गर्न पाइन्छ।’

एमालेनिकट युवा संघको जागरण सभामा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल, महेश बस्नेत लगायतका नेताहरू आज काठमाडौंबाट सिमरा जाने कार्यक्रम थियो। उनीहरू आउने भनेपछि विमानस्थलमा प्रदर्शन गरिरहेका जेनजी युवा र एमाले कार्यकर्ताबीच झडप भएको थियो। झडपपछि जिल्ला प्रशासन कार्यालयले बेलुकी ८ बजेसम्मका लागि कर्फ्यू जारी गरेको छ।

मंसिर ३, २०८२ बुधबार १६:०२:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।