एमाले नेतालाई सिमरा जान रोकेपछि कांग्रेसको आपत्ति
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतसहितका नेताहरूलाई सिमरा जानबाट रोक लगाइएको घटनाप्रति आपत्ति जनाएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै महामन्त्री शर्माले संविधानप्रदत्त अधिकार कुण्ठित गर्ने गरी कसैको पनि भ्रमणमा अवरोध गर्न नहुने बताएका हुन्।
‘सिमरा घटना दुःखद छ। प्रधानमन्त्रीज्यूलाई ध्यानाकर्षण, एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ?’, शर्माले प्रश्न गरेका छन्।
उनले एमालेले मधेश प्रदेशमा सही काम नगरेको वा चुनावको विपक्षमा उभिएको भए पनि आफ्ना कुरा राख्न हिँड्न रोक्न नहुने तर्क गरेका छन्।
शर्माले भनेका छन्, ‘एमाले चुनावको विपक्षमा उभिएको छ त, उसलाई चुनावमा आउन आग्रह गरौँ। मधेश प्रदेशमा सही कर्म गरेन त, त्यस विरुद्ध दबाब दिऊँ। जेनजीविरुद्ध आवेगका अभिव्यक्ति दिएका छन् त, संयमले बोल्न भनौँ। तर आफ्ना कुरा राख्न कहीँ पनि भ्रमण गर्ने संविधान प्रदत्त अधिकार कसैको पनि कुण्ठित गर्न मिल्दैन। त्यसले झनै द्वन्द्व बढाउँछ।’
उनले यो समय संयम र एकता राख्नुपर्ने समय भएको भन्दै निषेधको राजनीति नगर्न आग्रह गरे। शर्माले सामाजिक सञ्जालमाथिको निषेधविरुद्ध उभिने जेन-जी समूह कसैको ‘समाज भ्रमण अधिकार’ विरुद्ध उभिन नसक्ने जिकिर गरे।
‘सिमरा घटना जेन-जी भावना होइन, त्यसको दुरुपयोग हो। निषेधको राजनीति कसैले नगरौँ’, उनले भनेका छन्।
यसअघि एमालेको मधेश प्रदेशस्तरीय युवा भेलालाई सम्बोधन गर्न जान लागेका नेताहरूलाई ‘जेन-जी’ समूहको प्रदर्शनका कारण सुरक्षा जोखिम भन्दै विमानस्थल आसपासमा रोक लगाइएको थियो।
मंसिर ३, २०८२ बुधबार १४:०३:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।