कर्णालीका दुर्गम गाउँमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार
काठमाडौं : नेपाल टेलिकमले कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रहरूमा आफ्नो टुजी र फोरजीसेवा विस्तार गरेको छ।
सरकारको नीति अनुसार ग्रामीण तहसम्म सञ्चार पहुँच पुर्याउने उद्देश्यले टेलिकमले हुम्ला, दैलेख, जाजरकोट र डोल्पाका विभिन्न स्थानमा सेवा सञ्चालनमा ल्याएको हो।
टेलिकमका प्रवक्ता रबिन्द्र मानन्धरका अनुसार हुम्लाको सर्केगाड गाउँपालिका-३ र ६ तथा अदानचुली-६ मा सेवा शुरू भएसँगै उनापानी, स्याल्ताडी, बराई गाउँ, ठूलाचौर, साधेकोट, रिपा, सर्केदेउ, पानचौर र कालिका लगायतका क्षेत्रका बासिन्दा लाभान्वित भएका छन्।
त्यस्तै, दैलेखको गुराँस गाउँपालिकास्थित पर्यटकीय क्षेत्र गुराँस र आसपासका बजार, गाउँपालिका कार्यालय, गोगनपानी, पातिकान्ना तथा वीरेन्द्रनगर नगरपालिकाको बयलकाँडा र बराहतालको लेकगाउँमा पनि फोरजी सेवा पुगेको छ।
जाजरकोटको जुनीचाँदे गाउँपालिकाको कोत्राङमा टावर सञ्चालनमा आएसँगै वडा नं ७ देखि ११ सम्मका विभिन्न बस्तीहरू सञ्चालनको पहुँचमा जोडिएका छन्।
यसैगरी, डोल्पाको ठूलीभेरी नगरपालिका र शे-फोक्सुन्डो गाउँपालिकाका विकट बस्तीहरू पनि सञ्चार सञ्जालमा समेटिएका छन्।
वडा नं १० को मिदक्ति लेकमा टावर निर्माण भएपछि फोक्सुन्डो ट्रेल, यार्सा पाटन, छेप्का, भोक्पा, सागबारी लगायतका क्षेत्र र शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज कार्यालय तथा सैनिक ब्यारेक क्षेत्रमा सेवा सुचारु भएको छ।
यो विस्तारसँगै अब नेपालका कुल ७५३ स्थानीय तहमध्ये ७४० तहमा नेपाल टेलिकमको फोरजी सेवा पुगेको छ।
प्रतिफल कम आउने र लगानी बढी हुने भए पनि दुर्गम क्षेत्रमा समान रूपले सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ।
मंसिर ३, २०८२ बुधबार १३:२०:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।